दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको पहल तथा समन्वयमा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुले सामुहिक रुपमा आर्थिक संकलन गरि पठाएको रकम बराबरको राहत सामग्री खरिद गरि नेपालमा बाढी पहिरोमा परि पीडित भएका घर परिवारलाई गत बिहीबार वितरण गरिएको छ ।
प्रतिकुल मौसम र एक्कसी जलवायु परिवर्तन भई असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण आएको बाढि पहिरोमा परि सबै भन्दा बढी क्षेती भएको बागमती प्रदेश अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर- १, २ र ३ का स्थानीय पीडित परिवारलाई तिहारको मुखैमा न्यानोको लागि लत्ताकपडा सहित चामल लगायतको खाद्य समाग्रीहरु वितरण गरिएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले बताएका छन ।
राहत सामग्री वितरण कार्यक्रममा घर बिदामा नेपाल गएका एनसीसी कतारका पुर्व अध्यक्ष तथा आईसीसीका पुर्व उपाध्यक्ष नरेन्द्र भाट, एनसीसी कतारका सल्लाहकार बुद्धि प्रसाद भण्डारी, सामाजिक अभियान्ताहरु सिताराम थापा र राजु पुडासैनी सहितको टोलि प्रभावित क्षेत्रमा प्रत्यक्ष उपस्थित भएर राहत वितरण समितिका अध्यक्ष, सुरक्षा निकायका प्रतिनिधि एवं स्थानीय निकायसङ्गको समन्वय तथा सहकार्यमा पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको थियो भने राहत सामग्री सम्बन्धित ठाउँ सम्म पुर्याउन आवश्यक यातायातको व्यवस्था सामाजिक अभियान्ता दिपक लामिछानेले गरेका थिए ।
अध्यक्ष भट्टले यो महान कार्यको लागि समन्वय गरि दिएकोमा एनसीसी सल्लाहकार माया केसी र साथ सहयोग गर्ने सम्पुर्ण संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद दिएका छन । एनसीसी कतार हरेक पटक नेपालको विभिन्न क्षेत्रमा भइ परि आउने प्राकृतिक प्रकोप, आपत बितप लगायत अन्य विविध सामाजिक कार्यहरूमा सक्रिय भुमिकामा रहेर काम गर्दै आइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्