नेवा पुच: कतारको चौंथो अधिबेशन सम्पन्न नेतृत्वमा जमुना मानन्धर (श्रेष्ठ) सर्वसम्मत…….

दोहा कतार – “आफ्नो पन आफ्नो पहिचानको लागि नेवारी एकता, भाषा भेषभुषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता” भन्ने मुल नारालाई आत्मसात गर्दै सन् २०११ मा स्थापना भएको नेवा पुच: कतारको चौंथो अधिबेशन शुकवार भव्य रुपमा सम्पन्न भए सङ्गै नयाँ कार्यकालको नेतृत्वमा भक्तपुरकी जमुना मानन्धर (श्रेष्ठ) सर्वसम्मत चयन भएकी छिन ।

श्रेष्ठ सङ्गै वरिष्ठ उपाध्यक्षमा कैलाश श्रेष्ठ, उपाध्यक्षद्वय लक्ष्मण श्रेष्ठ र सृष्टि श्रेष्ठ (सिम्रन), महासचिवमा विकास श्रेष्ठ, सचिवमा ओम कुमार श्रेष्ठ र रबिन कर्मचार्य, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सहकोषाध्यक्षमा पर्शुराम श्रेष्ठ चयन भएका छन् भने कार्यसमिति सदस्यहरूमा निरु श्रेष्ठ, सरिता श्रेष्ठ, अस्मिता महर्जन, अञ्जना श्रेष्ठ, राम सुन्दर श्रेष्ठ, समीर श्रेष्ठ, राम हरि श्रेष्ठ, देव नारायण नगरकोटी, गंगाप्रसाद श्रेष्ठ, विकास नानिचा श्रेष्ठ र सुवर्ण कुबेर श्रेष्ठ पनि सर्वसम्मत चयन भएका चयन भएका छन । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक किशोर महर्जनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

सनैयाको प्लाजामल स्थित लालिगुराँस रेष्टुरेन्टको सभाहलमा नेवा पुच: कतारका अध्यक्ष राजु महर्जनको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यतामा खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको कार्यक्रमको खुल्ला सत्र विधिवत रुपमा राष्ट्रिय गान बजाएर दिप प्रज्वलन तथा ब्यानर अनावरण गर्दै औपचारिक रुपमा अघि बढेको थियो ।

कार्यक्रममा नेवा पुच: का वरिष्ठ उपाध्यक्ष राकेश श्रेष्ठले उपस्थित सबैलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने नेवारी समुदायको पुरानो नृत्य कुमारी नृत्यमार्फत कोरियोग्राफर तथा नृत्यांगना सृष्टि श्रेष्ठले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् साथै नेपाल आदिवासी जनजाति महासंघको मातहतमा रहेका मातृ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि र अन्य केही संस्थाका प्रमुख एवं सामाजिक व्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए ।

दिउँसो करिब १२ बजे देखि साँझ सम्मै चलेको कार्यक्रममा सृष्टि श्रेष्ठ (सिम्रन), सरला तामाङ, एलिषा राई, रितु श्रेष्ठ, सरिता श्रेष्ठ, स्मृति उदास, सोनि तामाङ र सिर्जना तामाङ लगायतका कलाकार आ-आफ्नो गायन तथा नृत्य प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । खुल्ला सत्र कार्यक्रमकै दौरान बोल्ने क्रममा प्रमुख अतिथि मगरले नेपालमा सबैभन्दा पहिले नेवारहरूले नै संस्था स्थापना गरेको बताउँदै कतारमा पनि नेवा पुचः संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर अघि बढिरहेको देख्दा आफुलाई खुशी लागेको बताए ।

पुच:का महासचिव कैलाश श्रेष्ठले सहजीकरण गरेका कार्यक्रमको अन्तमा सभापति महर्जनले निमन्त्रणा स्वीकार गरेर कार्यक्रम सफल बनाउन उपस्थित भएका सम्पुर्ण र कार्यक्रम तयारीका लागि अहोरात्र खट्ने कार्यसमिति टिमलाई धन्यवाद दिदै नयाँ बनेको कार्यसमितिलाई सफल कार्यकालको अग्रिम शुभकामना दिएर कार्यक्रम समापन गरेका थिए भने महर्जनको कार्यकालभरिको विभिन्न कार्यक्रममा सहभागी कलाकारहरु लाई नेवारी पछ्यौरी (गछा) ओढाएर र अरु क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरु सहित नेपाल आदिवासी जनजाति महासंघ कतार मातहतका सबै मातृ संस्थाहरूलाई सम्मान पनि गरिएको थियो ।

 

 

 

सम्बन्धित समाचार