पर्वत समाज कतारको सातौं अधिवेशनबाट अध्यक्षमा सन्तोष क्षेत्री निर्वाचित….

दोहा कतार – पर्वत समाज कतारले सातौं अधिवेशन सम्पन्न भएको एक हप्ता पछी नेतृत्व पाएको छ । अधिवेशनको खुल्ला सत्र धुमधाम सङ्ग सम्पन्न गरे पनि बन्द सत्रमा सहमति जुट्न नसक्दा एक हप्ता नेतृत्व बिहिन भएको समाजले गत शुक्रबार पुन: बसेको बन्द सत्र कार्यक्रम बाट ओम बहादुर क्षेत्री (सन्तोष) अध्यक्षमा चयन भए पछी नेतृत्व पाएको हो ।

समाजका अध्यक्ष रघुनाथ शर्माको सभापतित्व तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सनैयामा रहेको फुलबारी स्पाइस रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको सातौं अधिवेशनको बन्द सत्रमा नेतृत्वको लागि अध्यक्ष पदका आकांक्षी आनन्द जिसी सहितको एक समूह र अर्का आकांक्षी सन्तोष क्षेत्रीको समुह बिच को नेतृत्वमा जाने भन्ने कुरामा सहमति हुन सकेको थिएन तर २७ डिसेम्बर शुक्रबार सहमतिको लागि पुन: बसेको बन्द सत्रबाट आनन्द जिसी समुहले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै विभिन्न १७ पदमा दर्ता गरेको उम्मेदवारीहरु फिर्ता लिएपछी क्षेत्रीले नेतृत्व पाएका हुन ।

क्षेत्रीसङ्गै कार्यसमितिको उपाध्यक्षद्वय टीका राम भुसाल र भीम कान्त पौडेल, सचिव सेवक घताने, कोषाध्यक्ष महेन्द्रकुमार चालिसे रहेका छन भने सदस्यहरूमा सागर विश्वकर्मा, सुमन थापा, नरबहादुर विश्वकर्मा (कुमार), प्रकाश परियार र चिरञ्जीवी पौडेल छन्। नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक छविलाल भट्टराईले पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका हुन ।

विधिवत रुपमा दिप प्रज्वलन सहित राष्ट्रिय गान गाएर पञ्चेबाजा बजाउदै समुद्घाटन गरिएको खुल्ला सत्र कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक आनन्द जिसीले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखे लगत्तै अञ्जली परियारले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन भने कार्यक्रम अवधिभर नृत्यांगना रेजिना गुरुङ, म्याग्देली मौलिक थाली नृत्यांगना यमुना पटेल, गायिका रेश्मी सेन्चुरी, जुनु प्रसाईं लगायतका कलाकारहरुले आफ्ना सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथै स्वास्थ्य जीवनका लागि रामजी खत्रीले स्व-जागरण ध्यानको अभ्यास पनि गराएका थिए ।

समाजका सचिव भरत मल्लले कार्यकाल अवधिको प्रतिवेदन पेस सहित सहजीकरण गरेका कार्यक्रममा कोषाध्यक्ष सुवास जिसीले करिब ६० हजार कतारी रियाल कारोबार गरेको आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा मन्तव्य राख्ने क्रममै प्रमुख अतिथि भट्टले कतारको नीति नियमलाई मनन गर्न आग्रह गर्दै सांस्कृतिक कार्यक्रम गर्दा कतार सरकारबाट अनुमति लिन आग्रह गरेका थिए । उनले थप बोल्दै कतारमा श्रमिकहरुले पासपोर्टको फाराम भर्न नसकिरहेको प्रति लक्षित गर्दै फरक फरक ४ जना परराष्ट्रमन्त्री समक्ष श्रमिक र स्लटका समस्या राख्दा पनि सुनुवाइ नभएको बताउँदै जसले चर्का भाषण गरे पनि समस्या यथावतै रहेको तितो यथार्थ सुनाएका थिए भने कतारमा अहिले नयाँ राजदूत आएको बताउँदै राजदूतले चाहँदैमा पनि स्लटको समस्या समाधान हुन नसकेको उदाहरण समाजमा प्रष्ट रहेको बताएका थिए ।

कार्यक्रममा समाजका विभिन्न गतिविधिमा सहयोग गर्ने संघ संस्था, पत्रकार, कलाकार सहित संस्थापक कार्यसमिति, निवर्तमान कार्यसमितिका पदाधिकारीहरू र विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । अधिवेशनमा थुप्रै वक्ताहरूले आफ्नो शुभकामना मन्तव्य राख्दै समाजका गतिविधिको प्रशंसा गरेका थिए भने कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, बिशिस्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, कलाकार, पत्रकारहरु सहितको बाक्लो उपस्थिति रहेको थियो ।

अन्तमा सभापति शर्माले कार्यक्रम सफल बनाउनको निमित्त अहोरात्र खटेर लाग्ने कार्यसमिति टिम, साथ सहयोग गर्ने व्यक्तित्वहरु र आफ्नो निमन्त्रणा स्विकार्दै उपस्थित भएका सम्पुर्ण प्रती आभार व्यक्त गर्दै खुल्ला सत्र कार्यक्रमको समापन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार