दोहा कतार – रोल्पाली सेवा समाज कतार शाखाको छैटौं वार्षिक साधारण सभा तथा विविध साँस्कृतिक कार्यक्रम शुक्रबार सनैया स्थित फुलबारी स्पाइस रेष्टुरेन्टको सभहलमा भव्य सम्पन्न भएको छ ।
समाजका अध्यक्ष गोपाल डागीको सभापतित्व, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राजु रेग्मी (राज) को प्रमुख आतिथ्यता तथा दोहामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिशिस्ट व्यक्तित्वहरु, समाजसेवी, बुद्धिजीवीहरु, सामाजिक अभियान्ता, व्यव्सायी, कलाकार, पत्रकारहरु सङ्गै दोहामा रहेका रोल्पाली तथा गैर रोल्पाली नेपालीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
दिउँसो करिब १ बजे व्यानर अनावरण गर्दै दीप प्रज्वलन सहित राष्ट्रिय गान बजाए पश्चात् ज्ञात अज्ञात शहिदहरु प्रती मौन धारण गरि औपचारिक रुपमा सुरु भएको कार्यक्रममा समाजका उपाध्यक्ष मानसिङ परियारले उपस्थित सबैलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने समाजका कलाकारहरु आफैले बनाएको स्वागत गीत र अर्का कलाकारद्वय माया के.सी र अनुष्कृती तामाङले स्वागत नृत्य प्रस्तुत गर्दै अतिथि तथा अन्य उपस्थित सबैलाई स्वागत गरेका थिए ।
समाजका कोषाध्यक्ष चयनसिङ घर्तिले वर्षभरिको आर्थिक प्रतिबेदन पेश गरेका कार्यक्रममा थुप्रै वक्ताहरुले समाजले बिगतमा गरेको कार्यहरु र दोहामा रहेका अन्य संघ संस्थाहरु सङ्गको सहकार्यमा गरेको विभिन्न कार्यहरुको प्रशंसा गर्दै आ-आफ्नो मन्तव्य राखेका थिए त्यसै क्रममा प्रमुख अतिथि रेग्मीले रोल्पाली सेवा समाजले आफ्नो क्षेत्रको आम नागरिकहरुमा भइ परि आउने हरेक सुख दुःखमा मलमपट्टि बनेर काम गरिरहेको र आगामी दिनमा पनि यस्ता कार्यहरूमा निरन्तरता दिइरहोस भनी शुभकामना व्यक्त गरेका थिए ।
उनले थप बोल्दै आफू जन्मेको हुर्केको माटोलाई भुल्न नसकेरै प्रवासमा रहेर पनि त्यही गाउँ ठाउँ प्रती समर्पित हुँदै संघ संस्था स्थापना भएका हुन र त्यही अनुरुप समाजले छोटो समयमा गरेको धेरै सामाजिक कार्य सर-सहयोग प्रती आफूलाई अत्यन्तै खुशी लागेको बताए । रेग्मीले समाजले गर्ने हरेक सामाजिक कार्यहरूमा व्यक्तिगत तथा गैरआवासीय नेपाली अभियानको तर्फबाट पनि सक्ने जति समन्वय र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
गणतन्त्र नेपालको सुरुवात नै रोल्पा जिल्लाबाट भएको भए पनि विकासको हिसाबले थोरै पछाडी परेको भन्दै रेग्मीले धेरै सम्भावनाको स्रोतहरु भएको ठाउँ र समग्र रोल्पाको विकासको लागि युवा बर्गले सम्बन्धित निकायलाई घच घच्याउनु पर्ने र कहि कतै त्यस्तो निकायहरू सङ्ग भेट भएको खण्डमा आफुले पनि ती कुराहरु प्राथमिकताको साथ राख्ने बताए ।
समाजका महासचिव केशर खनालले सहजीकरण गरेका कार्यक्रममा एनआरएन ग्लोबल फाइनालिस्ट गायिका गुना मगर “निशु”, गायक नारायण देबकोटा, चित्रा के.सी लगायतका कलाकारहरुले आ-आफ्नो गायन तथा नृत्य प्रस्तुतिहरुले उपस्थित सबैलाई आकर्षित बनाएका थिए भने समाजको वार्षिक कार्य प्रगति पनि महासचिव खनालले नै प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्तमा सभापति डागीले अगाडि बोलेका वक्ताहरुले दोहामा रोल्पा जिल्लाभित्रैको दुई वटा संस्था फुटेर अगल भएको विषयमा बोल्दै संस्था अलग भएपनि दुई वटै संस्थाको उद्देश्य एउटै भएको हुँदा यसमा अन्यथा सोच्नु पर्ने कुनै कारण नभएको बताए । डागीले कार्यक्रम सफल बनाउनको लागि अहोरात्र खटिने सम्पुर्ण टिम र उपस्थित भएर कार्यक्रमको सोभा बढाईदिने सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए भने कार्यक्रममा सहभागी कलाकार, सहयोगी दाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा जीवन योग प्रयोगशाला कतारका मुख्य प्रशिक्षक रामजी खत्रीले योगा र ध्यान मानव स्वास्थ्यको लागि कति आवश्यकता हुन्छ भन्ने बिषयमा जनचेतनामूलक कुरा राख्दै केही अभ्यासहरु समेत गराएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्