तमू (गुरुङ) समाज कतारकाे चेलीबेटी भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न…..

nepalijanatakhaba

दोहा, कतार- तमु (गुरुङ) समाज कतारको माँङी-त्हेँ चेलिबेटी भेटघाट (रि-च्हमि कैं पिबा) तथा सम्मान कार्यक्रम सनैया स्थित फुलबारी स्पाइस नेपाली रेष्टुरेन्टको सभाहलमा शुक्रबार सब्य भब्य रुपमा सम्पन्न भएको छ ।

तमु (गुरुङ) समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व, नेपाली महिला समाज कतारकी अध्यक्ष माया के.सीको प्रमुख आतिथ्यता तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको विशिष्ट आतिथ्यता र कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु सङ्गै विशिष्ट व्यक्तित्वहरुको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

दिउँसो १ बजेबाट विधिवत दिप प्रज्वलन गरि नेपाली राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा चेलीबेटी तथा दाजुभाईहरुको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्धेश्यले हरेक वर्ष तमु ल्होसार/ल्होछार मनाइ सके पछि वर्षभरी र सोही कार्यक्रममा विभिन्न कोणबाट सहयोग पुर्याएका संघ संस्था, व्यक्ति, कलाकारहरु, पत्रकारहरु सङ्ग स्नेह मिलनको रुपमा समाजले चेलीबेटी भेटघाट तथा सम्मान कार्यक्रम गर्दै आईरहेको छ ।

कार्यक्रममा दाजुभाईहरुले चेलिबेटीहरु सहित, सभापति, प्रमुख अतिथि, आजीवन सदस्य, मानार्थ सदस्यहरु, समाजका खेलाडीहरुको साथै कार्यक्रममा सहभागी कलाकारहरु, मिडियाकर्मी, पत्रकारहरु लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान पत्रको साथमा फेटा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने नेपाल प्रवासी तामाङ समाज, कतार र स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेको हरिनाश गाउपालिका ईकाईले माईती चेलीको सम्बन्धलाई अझै प्रगाढ बनाउन सगुन स्वरुप कोशेली प्रदान गरेका थिए ।

साँझ अबेरसम्म चलेको कार्यक्रममा कलाकारहरु गुना मगर, गोबिन्द गुरुङ, अजय परियार, विशाल गुरुङ लगायत तमु गुरुङ समाजको संरक्षकत्वमा गठित महिला बिभागमा आवद्ध रहेका कलाकारहरुले विभिन्न बिधाका गायन तथा नृत्य प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । समाजका महासचिब डिजन गुरुङले सहजीकरण गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष तेज गुरुङले स्वागत मन्तव्य सङ्गै कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए भने प्रमुख अतिथि के.सीले महापुरुष र सात कन्याहरुबाट जन्म भएको गुरुङ समुदायको परम्परागत संस्कार अनुसार विशेष महत्त्वका साथ माईती र चेलीको सम्बन्धलाई प्रगाढ राख्ने कार्यक्रममा आफुलाई सम्झेर प्रमुख अतिथीको भुमिका निर्वाह गर्न दिएकोमा मनै देखि समाज प्रती हार्दिक आभार ब्यक्त गरेकी थिइन् ।

कार्यक्रमको अन्तमा सभापति गुरुङले तमु समुदायका हरेक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई संस्थागत कृतज्ञता ज्ञापन गर्दै प्रवासमा रहेर चेलीबेटीहरूलाई यसरी सम्मान गर्ने अभिभावक पाउदॉ अत्यन्त खुसी लागेको बताईन । उनले माँङीको दिन मास र तरुलको टिका लगाइदिएर चेलीहरूलाई दक्षिणा दिने प्रचलन रहेको र यसले चेली माइतीको सम्बन्धलाई थप मजबुत बनाउने विस्वास रहि आएको पनि बताइन् ।

यस पर्वलाई थारु समुदायले माघी, मगर समुदायले माघ्या सकराटी, हिन्दु धर्मावलम्बीहरूले मकर सङ्क्रान्ति, किराँती समुदायले नयाँ वर्ष यले तङ्बे र गुरुङ समुदायले माँङी त्हेँ (सात आमाहरूको पूजा र सी माना दिने) पर्वको रूपमा धूमधामका साथ मनाउने गर्दछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

समबन्धित समाचार