दोहा कतार- गण्डकी प्रदेश समन्वय परिषद, कतारको अध्यक्षमा पर्वतका नन्दलाल वि.क (अजय) सर्वसम्मत चयन भएका छन । मंगलबार सनैया स्थित फुलबारी स्पाइस नेपाली रेष्टुरेन्टको सभाहलमा भएको चौथो अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रमबाट वि.क सर्वसम्मत चयन भएका हुन ।
परिषदका कार्यबाहक अध्यक्ष नन्दलाल वि.क (अजय) को सभापतित्व, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उप-महासचिव प्रविन गुरुङको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रमेश भट्टको विशिष्ट आतिथ्यता र विभिन्न संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विशिस्ट सामाजिक व्यकतित्व, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार, कलाकारहरुको बाक्लो उपस्थितिमा खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न अधिवेशन कार्यक्रमको बन्द सत्रबाट अध्यक्षमा पर्वतका वि.क सहित वरिष्ठ उपाध्यक्षमा रोशन अर्याल (स्याङ्जा), उपाध्यक्षद्धय कल्याण थापा (लमजुङ) र अर्जुन सङ्ग्रौला (गोरखा), महासचिव मन प्रसाद राना मगर (कास्की), कोषाध्यक्ष मदन जि सी (बाग्लुङ्) चयन भएका छन् । त्यस्तै कार्यसमितिको पदेन सदस्यहरूमा बाबुराम भण्डारी (म्याग्दी), नीराजन गौतम (बाग्लुङ्), सन्तोष क्षत्री (पर्वत), अग्निधर देवकोटा (कास्की), विनोद प्रसाद बसौला (लमजुङ), ओम गुरुङ (गोरखा), घनश्याम जैसी (स्याङ्जा) र मीनराज वाग्ले (तनहुँ) रहेका छन् ।
खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न कार्यक्रमको खुल्ला सत्र विधिवत रुपमा दिप प्रज्वलन व्यानर अनावरण गरि, राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको थियो । कार्यक्रममा परिषदका उपाध्यक्ष पदम रानाभाटले स्वागत मन्तव्य राखेका थिए भने नृयाङ्गाना सुधा परियारले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन । कार्यक्रममा कार्यकाल भरिको कार्यप्रगती महासचिव कल्याण थापाले र आर्थिक आयव्यय विवरण कोषाध्यक्ष रोशन अर्यालले प्रस्तुत गरेका थिए ।
खुल्ला सत्र कार्यक्रममा गण्डकी प्रदेशकै प्रचलित थाली नाच कलाकार यमुना पटेलले प्रस्तुत गरेकी थिइन भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारहरुले भजन सहितको साङ्गीतिक प्रस्तुती प्रस्तुत गरेका थिए । साथै कवि तथा साहित्यकार सिताराम थापाले पैसा नतिर्ने मेरो एउटा साथी छ शिर्षकको कविता वाचन गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्य ८ वटा जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहित कार्यक्रममा सहभागी थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य राख्ने क्रममा अधिकाङ्शले प्रदेश परिषदले स्थापना कालदेखि नै सबै जिल्ला संस्थाहरु सङ्ग समन्वय गरेर गरेको उदाहरणीय कार्यहरूको स्मरण गर्दै नयाँ बन्ने नेतृत्वले पनि बाँकी रहेको कार्यहरुलाई निरंतरता दिदै अघि बढ्ने विश्वासका साथ नयाँ बन्ने कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
परिषदका महासचिव कल्याण थापा र अर्जुन संग्रौलाले उत्कृष्ट तरिकाले सहजीकरण गरेका कार्यक्रमको मध्यान्तर तिर जिवनयोग प्रयोगशाला कतारका मुख्य प्रशिक्षक तथा नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले योग साधना तथा व्यायामले शारीरमा रक्तसञ्चार र मानसिक रुपमा पुग्ने फाइदाहरु बताउदै उपस्थित अतिथि एवं दर्शकहरुलाई शारीरिक व्यायाम सम्बन्धित केही अभ्यासहरु समेत गराएका थिए ।
मन्तव्य राख्ने क्रममै प्रमुख अतिथि गुरुङले गण्डकी प्रदेश भौगोलिक हिसाबले पनि एउटा पर्यटकीय स्थल भएकोले निकट भविष्यमा यसको उचित प्रचारप्रसार र संरक्षण गर्न सके समग्र गण्डकी प्रदेशको विकासमा थप टेवा पुग्ने बताए । उनले कुनै पनि संघ संस्था आफ्नै बिधि विधानमा चल्ने हुँदा सामाजिक संस्थाहरु माथी राजनीति हाबी नहुन पनि आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङलाई सम्मान पत्र मायको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने प्रदेश अन्तर्गतको जिल्ला संस्थाका अध्यक्षहरु, कार्यक्रममा सहभागी कलाकारहरु र केही विशेष व्यक्तित्व हरुलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
अन्तमा सभापति वि.क (अजय) ले अधिबेशन कार्यक्रमलाई सव्य भव्य रुपमा सम्पन्न गर्न विभिन्न कोणबाट सहयोग पुर्याउने सम्पुर्णलाई धन्यवाद दिदै खुल्ला सत्र कार्यक्रम समापन गरेका थिए भने बन्द सत्र कार्यक्रमको सहजीकरण गरेका निर्वाचन समिति सदस्य तिलु शर्मा पौडेलले निर्वाचन समितिलाई काम गर्न सहजता प्रदान गरिदिने गण्डकी प्रदेशका कतारमा रहेका जिल्ला संस्थाका अध्यक्षहरु, प्रदेशका संस्थापक, संरक्षक सल्लाहकारहरुको साथै वरिष्ठ उपाध्यक्षका प्रत्यासी रमेश पौडेल र अध्यक्षका प्रत्यासी पदम गिरीलाई धन्यवाद दिएका थिए । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक राकेश श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्