वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं — वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उनी गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष र गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत थिए।

 

उपचारको क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा शुक्रबार बिहान उनको निधन भएको हो।

 

चालिसेले वि.सं. २०६६ असार १५ देखि २०६७ फागुनसम्म गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। यसअघि उनी २०६२ असोज ८ देखि २०६२ पुस १२ र २०६४ जेठ ३० देखि २०६५ भदौ १६ गतेसम्म गोरखापत्र दैनिकका कायममुकायम प्रधान सम्पादक थिए।

 

पत्रकारिता र साहित्य दुबै क्षेत्रमा सक्रिय विजय चालिसेको पुरा नाम विजयकुमार चालिसे हो। बेलायतबाट पत्रकारिताको डिप्लोमा गरेका उनले ‘सञ्चारका सिद्धान्त’ नामक पुस्तकसमेत प्रकाशित गरेका छन्। गोरखापत्र दैनिकले १२५ वर्ष पूरा गरेको अवसरमा वैशाख २४ गते आयोजित विशेष समारोहमा उनलाई ५० हजार रुपैयाँ राशिको रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कारले सम्मान गरिएको थियो।

 

वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र विजय चालिसे बाल साहित्यमा विशेष रूपमा सक्रिय थिए।

 

वि.सं. २००८ असार २२ गते, शुक्रबार, काठमाडौँको जोरपाटीस्थित आरुबारीमा जन्मिएका चालिसेले लामो समयदेखि कथा, उपन्यास र नाटकमार्फत बालबालिकालाई केन्द्रमा राखेर निरन्तर लेख्दै आएका थिए।

 

बालकथामा उनको उल्लेखनीय योगदान छ। ‘हराएको मूर्ति’ (२०५६), ‘किसानबाट शिक्षा’ (२०५८) र ‘चट्याङ्किको बाँदर’ (२०५९) जस्ता कथा संग्रहमार्फत उनले बालबालिकालाई जीवनका विविध पक्षहरू सरल भाषामा बुझाउने प्रयास गरेका छन्। छोटा वाक्य र संवादको प्रयोग गर्दै उनले रमाइलो र स्वाभाविक शैलीमा कथा प्रस्तुत गरेका छन्। यस्ता कथाहरूमा प्रत्यक्ष सन्देश नदिए पनि गहिरा अर्थ समेटिएका हुन्छन्।

 

उनका उपन्यासहरू पनि ज्ञानवर्धक र वैज्ञानिक दृष्टिकोणले महत्वपूर्ण छन्। ‘मंगल ग्रहका विज्ञान’ उपन्यासमा सौर्यमण्डल र अन्तरिक्षसम्बन्धी रोचक तथ्य र अनुसन्धान प्रस्तुत गरिएको छ। ‘मुस्ताङको गुफा’ उपन्यासमार्फत उनले नेपाली प्राकृतिक सम्पदाको परिचय दिँदै, बालबालिकाले पनि बुद्धिमत्ता र सतर्कताका साथ गलत गतिविधिमा लागेका वयस्कहरूलाई हराउन सक्ने सन्देश दिएका छन्।

 

वि.सं. २०५२ मा प्रकाशित ‘बादलका बुट्टाहरू’ नामक नाटक संग्रहका चार नाटकमध्ये पहिलो दुईले समयमै बालबालिकाको प्रतिभा पहिचान गरी प्रोत्साहन गर्न सके उनीहरू सक्षम व्यक्तित्व बन्न सक्छन् भन्ने सन्देश दिन्छन्।

nepalijanatakhabar

समबन्धित समाचार