दोहा, कतार- धादिङ सेवा समाज कतारले कलाकार सहित जिल्लाका चेपाङ समुदायलाई सहयोग गरेका सहयोगी दातालाई सम्मान गरेको छ ।
समाजले शुक्रवार एउटा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरि गत १९ अप्रिलमा नेपालबाट राष्ट्रिय ख्याति प्राप्त गायक मिलन लामालाई बोलाएर जिल्लाका चेपाङ समुदायलाई सहयोग गर्ने उद्देश्यका साथ नेपाली नयाँ वर्ष- २०८२ को अवसर पारेर आयोजना गरेको नेपाली नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रममा सहयोग गर्ने विभिन्न संघ संस्था, साङ्गीतिक प्रस्तुति दिने कलाकार, पत्रकारहरुको साथै सहयोगी दाताहरुलाई कदर-पत्रद्वारा सम्मान गरेको हो ।
सनैयाको प्लाजामल स्थित लालीगुराँस रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष आयुष घलेको सभापतित्व तथा समाजकै प्रमुख सल्लाहकार सोमनाथ कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजकी द्वितीय उपाध्यक्ष उषा रिमाल नेपालले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेकी थिइन भने कलाकार सरिता वान्तवा राईले स्वागत नृत्य प्रस्तुत गरेपछि समाजका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गौतम तामाङले कार्यक्रम बारे जानकारी गराएका थिए ।
समाजका महासचिव रामहरि श्रेष्ठले सहजीकरण गरेका कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, व्यवसायी, कलाकार तथा पत्रकार हरूको बाक्लो उपस्थिति रहेको थियो । सम्मान कार्यक्रममा उपस्थित मध्य करिब एक दर्जन भन्दा धेरै कलाकारहरूले आ-आफ्नो सांगीतिक प्रस्तुति समेत राखेका थियो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा बोलेका वक्ताहरूले धादिङ सेवा समाजले जिल्लामा बसोबास गर्ने लोपोन्मुख चेपाङ समुदायको सहयोगको लागि गरेको उदाहरणीय कार्यको खुलेरै प्रशंसा गरे । कार्यक्रममा प्रमुख अतिथि कँडेलले समाजलाई अगाडी बढाउन सबै जनाको साथ र सहयोगले मात्र लक्ष्य पूरा गर्न सकिने बताए । उनले आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको अपेक्षा गर्दै जिल्लामा भएका हरेक सामाजिक कार्यमा समाजले हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन ।
कार्यक्रमको अन्तमा सभापति घलेले गृह जिल्लाका चेपाङ समुदायलाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमलाई विभिन्न कोणबाट आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पुर्याएका सबै प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि समाजले आयोजना गर्ने यस्तै सामाजिक कार्यमा साथ सहयोगको अपेक्षा सहित हलमा उपस्थित सम्पूर्णलाई उपस्थितिको लागि धन्यवाद दिएका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्