दोहा,कतार- कतारमा स्थापित दलित समुदाय अन्तर्गतका तीन वटा संस्थाहरु द्वारा एक साथ आयोजना गरिएको तिज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
शुक्रबार दलित एकता संजाल नेपाल, कतार, परियार मित्रता समाज, कतार र विश्वकर्मा समाज कतारको महिला विभागहरुद्वारा आन्तरिक रुपामा आयोजित हिन्दु धर्मावलम्बी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज विशेष दर खाने कार्यक्रम मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा दलित एकता संजाल नेपाल, कतारकी महिला उपाध्यक्ष कोपिला परियारको सभापतित्व र नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
दिउँसो करिब २:३० बजेबाट विधिवत रुपमा दिप प्रज्वलन सङ्गै नेपाली राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा तीन ओटै संस्थाका अध्यक्षहरु, नेपाली महिला समाज कतारकि प्रथम उपाध्यक्ष सन्ध्या अर्याल, उपाध्यक्ष सुस्मा खतिवडा कटुवाल, परियार मित्रता समाज, कतारका संरक्षक ठाकुर कुमार परियार लगायत सल्लाहकार तथा कार्यसमिति स्दस्यहरु र रातो सारीमा सज्जिएका महिला दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने उपस्थित सबैलाई सम्बोधन गर्दै कार्यक्रम संयोजक रिया परियारले स्वागत मन्तव्य राखेकी थिइन ।
संजालका महासचिव अमृत विश्वकर्माले थोरै मन्तव्य र धेरै साङ्गीतिक प्रस्तुति राखेर सहजीकरण गरेका कार्यक्रम अवधिभर संस्थामै आबद्ध झन्डै एक दर्जन कलाकारले आ-आफ्नो गायन, नृत्य एवं तिज विशेष प्रत्यक्ष (लाइभ) दोहोरी प्रस्तुत गरेर कार्यक्रमलाई अझै आकर्षित बनाएका थिए भने संजालका प्रमुख संरक्षक कृष्ण परियार, प्रमुख सल्लाहकार किरण परियार, परियार मित्रता समाजका प्रमुख संरक्षक ठाकुर कुमार परियार, प्रमुख सल्लाहकार उषा परियार, अध्यक्ष सुमन नेपाल परियर, संजालका अध्यक्ष प्रकाश विश्वकर्मा, विश्वकर्मा समाजका अध्यक्ष सेवक विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले मन्तव्यमा बोल्दै दलित समुदायले हरेक चाडपर्वहरु मनाउने गरेको भए पनि यसरी एउटै व्यानरमा तिनै वटा संस्थाले कार्यक्रम आयोजना पहिलो पटक गरेकोमा खुशी व्यक्त गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुको साथै दलित समुदाय भित्रका दलितहरूको सम्बन्ध र आत्मियता अझै प्रगाढ बनाएको महसुस भएको बताए ।
कार्यक्रम सुरु भए देखि अन्तसम्म हल भरिभराउ भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले दलित समुदाय भित्रको आत्मियता र एकता देखेर अत्यन्तै खुशी लागेको बताइन । केसीले संस्थाले आयोजना गरेको धेरै कार्यक्रमहरुमा सहभागी भएको भए पनि यसरी सामुहिक रुपमा आयोजना गरिएको कार्यक्रममा भने पहिलो पटक प्रमुख अतिथि भएर सहभागी हुँदै गर्दा एउटा नयाँ अनुभव गर्ने अवसर मिलेकोमा गर्व लागेको बताइन । उनले थप बोल्दै समाजमा जातीयताको नाममा अलगअलग समुदायहरु छन तर त्यो भन्दा पहिला मानव जगतमा पुरुष र महिला दुई जात मात्रै हुन भन्ने कुरा बुझ्न जरुरी रहेको बताइन् ।
केसीले पछिल्लो समय सम्पुर्ण समुदायमा शिक्षा, स्वास्थ्य र चेतनाको अभिवृदी भए सङ्गै एक समुदायले अर्को समुदायलाई हेर्ने नजर क्रमिक रुपमा सुधार हुँदै आएको र त्यसको लागि स्कुलको उच्च शिक्षा भन्दा अनुशासन र व्यबहारको शिक्षा महत्त्वपूर्ण हुने धारणा व्यक्त गरिन ।
कार्यक्रममा प्रमुख अतिथि केसी, परियार मित्रता समाज, कतारकी प्रमुख सल्लाहकार उषा परियार, पत्रकार प्रकाश दर्नाललाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रममा प्रस्तुति दिएका कलाकारहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा सभापति कोपिला परियारले यो ऎतिहासिक कार्यक्रममा आयोजना गर्ने तीन वटै संस्थाका अध्यक्षहरुलाई आभार व्यक्त गर्दै कार्यक्रम तयारीमा अनवरत खट्ने टिम र समयामै उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेकी थिइन ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्