काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको दोस्रो वार्म-अप खेलमा नेपालले पुनः शानदार जीत हात पारेको छ।
सोमबार साँझ सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो।
कतारका मुहम्मद तनभिरले ५१ रन र कप्तान मिर्जा बेगले ४० रनको योगदान दिए। नेपालका करण केसीले ३ विकेट लिए भने नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले प्रत्येकी १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको उत्कृष्ट योगफल तयार पारेको थियो। ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रनको आक्रामक पारी खेले भने दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले क्रमशः ३८–३८ रनको योगदान दिए, जसमा कुशल मल्ल अविजित रहे।
बलिङतर्फ कतारका मुनिर साद र इक्रमुल्लाह खानले २–२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रहमानले १–१ विकेट लिए।
यसअघि नेपालले पहिलो वार्म-अप खेलमा ओमानलाई पराजित गरेको थियो।
प्रतिक्रया दिनुहोस्