दोहा,कतार- कतारमा यो वर्ष पनि तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार भव्य रूपमा मनाइने भएको छ ।
“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापित नेपाल प्रवासी तामाङ समाज, कतारले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आफ्नो महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार ता ल्हो (घोडा वर्ग) भव्य रूपमा मनाउने भएको हो । “तामाङ संस्कार र संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौँ, सोनाम ल्होछार घरघरमा उल्लासपूर्वक मनाऔँ” भन्ने स्लोगन सहित समाजले “मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार विशेष शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि सोनाम ल्होछार मनाउन लागेको हो।
समाजले आगामी शुक्रबार अर्थात २३ जनवरी २०२६ को दिन अल दोसरी जु सहानियामा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित विभिन्न संघ, संस्था तथा बैचारिक संस्थाका प्रमुख एवं प्रतिनिधि, विशिष्ट सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, पत्रकारहरु सबैलाई पत्राचार गरिसके सङ्गै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउदै कतारवासी नेपाली दाजुभाई दिदीबहिनी लगायत तामाङ ज्योज्यो आले, नाना आङा सम्पुर्णलाई उपस्थितिको लागि नेपाली जनता खबर मार्फत पुनः अनुरोध गरेको छ।

कार्यक्रममा संस्कार र संस्कृति झल्काउने मौलिक तामाङ साँस्कृतिक सेलो नृत्य तथा गीत संगीत, परम्परागत डम्फु, म्हेन्दोमाया नृत्य, १८५४ देखि १८५६ नेपाल तिब्बत युद्ध झल्काउने घोडा नाच, विशिष्ट अतिथिहरूबाट शुभकामना मन्तव्य, समुदायबीच भेटघाट, एकता र आपसी सद्भावको साथै नेपाली तथा मौलिक तामाङ परिकारहरु उपस्थित सबैको मुख्य आकर्षण हुने छन भने २८६२ सोनाम ल्होछार मूल समारोह समितिका सूचना तथा प्रचारप्रसार संयोजक मिलन स्याङ्तान तामाङले ल्होछार पर्व तामाङ जातिको पहिचान, संस्कार र सांस्कृतिक एकताको प्रतीक भएकाले सबैको सक्रिय सहभागिताले कार्यक्रम अझै भव्य र व्यवस्थित रूपमा सफल हुने विश्वास व्यक्त गरेका छन ।
तामाङ समुदायले विशेषगरी सोनाम लोसारलाई नयाँ वर्ष आरम्भको रूपमा मनाउने गर्छन् भने ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्र वटा भएको विश्वास गर्दै ती बाह्र वर्षको नाम पशुपंछी, चराचुरुङ्गी र विभिन्न जीवजन्तुहरु मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुरको नामबाट राखिएको छ । बाह्र वर्गलाई तामाङ सहित ल्होसार मनाउने समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ ।
कार्यक्रम हुने दिन सहभागी हुन चाहनेहरुको लागि कार्यक्रममा जान आउन विभिन्न ठाउँबाट यातायातको पनि व्यवस्था गरिएको छ भने थप जानकारीका लागि ५०४५९७७९, ६६१७३८३१ र ३०९६१५३० मा सम्पर्क गरेर बुझ्न सकिनेछ ।




प्रतिक्रया दिनुहोस्