गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डको रूपमा व्याख्या गर्नुभएको छ। नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उहाँले नेपाल टेलिकम केवल दूरसञ्चार सेवा प्रदायक मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक गतिविधिको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो।
गृहमन्त्री अर्यालले भन्नुभयो, “नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था होइन, यो राज्यको डिजिटल मेरुदण्ड हो। दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गरेर यस संस्थाले राष्ट्रिय एकता मजबुत बनाउँदै सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई निरन्तर सहयोग पुर्याउँदै आएको छ। प्राकृतिक विपद्, महामारी तथा अन्य आपत्कालीन अवस्थाहरूमा नेपाल टेलिकमले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण छ।”
उहाँले दुर्गम क्षेत्रदेखि तराईसम्म सञ्चार पहुँच पुर्याएर नेपाल टेलिकमले देशको समग्र विकासमा उल्लेखनीय योगदान दिँदै आएको बताउनुभयो। आजको युगमा दूरसञ्चार मानव जीवनको आधारभूत आवश्यकता बनिसकेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले दूरसञ्चार सेवालाई अत्यावश्यक सेवा भएको धारणा राख्नुभयो।
प्रतिस्पर्धी बजार, संस्थागत दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनबीच सन्तुलन कायम गर्दै नेपाल टेलिकमले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।




प्रतिक्रया दिनुहोस्