राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको प्रधानमन्त्रीलाई नै करारमा नियुक्त गर्न खोजेको छ: उपसभापति विश्वप्रकाश शर्मा

वायु प्रधुशन
nepalijanatakhaba

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको प्रधानमन्त्रीलाई नै करारमा नियुक्त गर्न खोजेको भन्दै कटाक्ष गरेका छन्।

शुक्रबार ललितपुरमा आयोजित कांग्रेसको भेटघाट कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्री बन्ने कुरा सामान्य कर्मचारी नियुक्ति जस्तो सजिलो नहुने बताए। प्रधानमन्त्री हुन बलियो राजनीतिक आधार र गहिरो अनुभव आवश्यक हुने उनको भनाइ थियो।

उनले भने, “रास्वपाले करारमा प्रधानमन्त्री नियुक्त गर्नेबारे सल्लाह गरेको कुरा गर्छ। करारमा कर्मचारी राखेको त सुनेकै हो, तर देशको प्रधानमन्त्री बनाउने कुरा आउँदा त्यसको जग निकै मजबुत हुनुपर्छ।”

शर्माले भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कांग्रेसबाहेक अन्य दलहरू जनतामाझ सशक्त रूपमा जान नसकेको दाबी गरे। उनले एमालेले जेन–जी आन्दोलनपछि पार्टी विधान संशोधन गर्दै दुई कार्यकालपछि अध्यक्ष अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन कार्यकालसम्म अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी पनि गरे।

“जेन–जी आन्दोलनपछि एमालेले विधान बदल्यौँ भन्छ। के बदल्यौँ त ? दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने बनायौँ भन्ने अवस्था छ,” शर्माले भने, “यो गाली वा आलोचना होइन, तथ्य मात्रै हो।”

उनले परिवर्तनको कुरा गर्ने केही दलहरू अहिले पनि जनताको भावनाअनुसार अघि बढ्न नसकेको आरोप लगाए। कांग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत पार्टीको सोच, नीति र दिशा नै परिवर्तन गरेको उनको दाबी थियो।

“माओवादीले नाम फेर्‍यौँ, २९ दलको मोर्चा बनायौँ भन्छ। कांग्रेसले के फेर्‍यो भनेर सोध्दा हामीले ८० वर्षमाथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको नेतृत्वमा देशका समस्याको गहिरो विश्लेषण गरेर अघि बढेका छौँ,” शर्माले बताए।

nepalijanatakhabar

समबन्धित समाचार