काठमाण्डौ: पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को ९० वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको केएमसी अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान ४ बजे उनले अन्तिम सास लिए।
वि.सं. १९९३ मा अर्घाखाँचीको तत्कालीन किमडाँडा पञ्चायत–८ (हाल भूमिकास्थान नगरपालिका–८, निमडाँडा) मा पिता खेमराज र आमा सावित्रा पौडेलको जेठो सन्तानका रूपमा जन्मिएका शास्त्री समाजवादी विचारधाराका चिन्तक थिए। उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन्। एक श्रीमतीको पहिल्यै निधन भइसकेको छ। छोराहरू विदेशमै रहेकाले उनीहरू फर्किएपछि मात्र अन्त्येष्टि गरिने परिवारका अशोक पौडेलले जनाएका छन्।
वि.सं. २०१० मा भारतको वाराणसीमा अध्ययनरत रहँदा शास्त्री नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। पढाइ सकेपछि भूमिगत राजनीतिमा लागेका उनले वि.सं. २०१४ मा कांग्रेसले सुरु गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाबाट नेतृत्व गरेका थिए। तानसेनसम्म पुगेर आन्दोलनमा भाग लिएका उनी २०१७ पुस १ मा राजा महेन्द्रद्वारा संसद् विघटनपछि गुल्मी र अर्घाखाँचीका युवालाई क्रान्तिमा जुटाउन अग्रसर बने।
पछि भारतमा निर्वासित जीवन बिताएका शास्त्रीले गोरखपुरमा अध्यापनसमेत गरे। त्यहीँ रहँदा उनले पर्चा–प्रकाशन गरेर नेपालमा प्रजातान्त्रिक अभियान चलाएका थिए।
बिपी कोइरालाका कट्टर अनुयायी शास्त्री नेपाली कांग्रेसको संगठन विस्तारमा विशेष सक्रिय थिए। वि.सं. २०३६ र २०४६ का जनआन्दोलनमा उनको नेतृत्वदायी भूमिका रह्यो। २०४८ सालको संसदीय चुनावमा अर्घाखाँची–२ बाट भारी मतले विजयी भई उद्योगमन्त्री समेत बनेका उनी २०५१ को मध्यावधि चुनावमा पनि निर्वाचित भए। तर, त्यसपछि पार्टीले प्रस्ताव गरेको समानुपातिक सांसद बन्ने प्रस्ताव अस्वीकार गरेका थिए।
प्रतिक्रया दिनुहोस्