झापाली समाज युएईको ५औं अधिवेशन सम्पन्न, अध्यक्षमा कोईराला चयन

वायु प्रधुशन
nepalijanatakhaba

दुबई – झापाली समाज युएईको पाँचौं अधिवेशन अगस्ट १७ मा दुबईमा सम्पन्न भयो। कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान प्रमुख अतिथि रहेका थिए। उनले झापाली समाजले प्रवासमा गरेका सामाजिक गतिविधिको प्रशंसा गर्दै अरू समाजले पनि यसबाट प्रेरणा लिनुपर्ने बताए। साथै, समाजले तयार गरेको हाम्रो दायित्व नामक वृत्तचित्र सबैलाई हेर्न सुझाव दिए।

 

अधिवेशनमा विशेष अतिथि नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाले झापाली समाजका हरेक गतिविधि प्रेरणादायी भएको बताए। त्यस्तै, पूर्व अध्यक्ष बेदप्रसाद अर्यालले झापाली समाजले काम गर्ने तरिका स्मार्ट र प्रभावकारी भएको उल्लेख गर्दै नेपाली समाज र झापाली समाजबीचको सहकार्य प्रशंसनीय भएको स्मरण गरे। प्रवासी नेपाली समन्वय विभाग युएई अध्यक्ष सुजन थापाले समाजले युएईमा विशेष पहिचान बनाएको भन्दै यसको निरन्तरतामा विश्वास व्यक्त गरे।

 

अधिवेशनले २०२५–०२६ कार्यकालका लागि नेपाल पत्रकार महासंघ युएई अध्यक्ष मेघराज सापकोटा संयोजक रहेको निर्वाचन समितिले लोकेश कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्यो। समितिमा उपाध्यक्षमा रत्न सापकोटा र विष्णु दंगाल, महासचिवमा रामकुमार राउत, सचिवमा भरत बुढाथोकी र भुपेन्द्र आचार्य, कोषाध्यक्षमा प्रेम अधिकारी, सह–कोषाध्यक्षमा काशीनाथ ढकाल तथा सदस्यमा समीर आलम रहेका छन्।

 

कार्यक्रममा अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले नेपाली समाज युएईको उद्धार कोषमा पाँच सय दिराम सहयोग हस्तान्तरण गरिएको थियो। अधिवेशनले महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्यो। आर्थिक प्रतिवेदनअनुसार करिब ३० लाख रुपैयाँ नेपालका विभिन्न बैंकमा जम्मा रहेको र सो कोषबाट झापाका १५ जना विद्यार्थीलाई कक्षा १ देखि १० सम्म नियमित छात्रवृत्ति प्रदान हुँदै आएको जानकारी दिइयो।

 

अधिवेशनमा विभिन्न समाजका प्रतिनिधिहरू—पिएनएस्बी युएईका कृष्ण खतिवडा, प्रवासी समाज युएई अध्यक्ष दुबल राजबंशी, ताप्लेजुङ समाज अध्यक्ष लोकेन्द्र पालंलुवा, नुवाकोट समाज अध्यक्ष नवीन कार्की, पर्वत समाज अध्यक्ष तिलक सापकोटा लगायतले निवर्तमान अध्यक्ष अमरराज राईको नेतृत्व सफल भएको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई शुभकामना दिए।

 

कार्यक्रममा समाजका सल्लाहकार, पूर्व पदाधिकारी र युएईका विभिन्न क्षेत्रमा बस्ने झापालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

nepalijanatakhabar

समबन्धित समाचार