दोहा,कतार- तमु गुरुङहरुको साझा संस्था तमु (गुरुङ) समाज कतारको महिला बिभागले दाजुभाई भेटघाट तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
बैशाख पुर्णिामाको अवसर पारेर महिला बिभागले शुक्रबार वेलफेयर रेष्टुरेन्टको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । तमुहरुको पहिचान, संस्कार र संस्कृति अनुसार समाजका सस्थांपक अध्यक्ष, प्रमुख संरक्षक तथा संरक्षक सदस्यहरुलाई (क्रेगी) फेटाद्वारा सम्मान गरिएको थियो भने हरेक बर्ष बैशाख पूर्णिमाको अवसरमा चेलीहरुले माईतीसगं भेटघाट गरि सम्मान किन र कसरी गरिन्छ भन्ने बिषयमा समाजकी निर्देशक सल्लाहकार टौमाया गुरुङले प्रष्ट पारेकी थिइन् ।

चेली माईती भेटघाट विशेष कार्यक्रममा समाजका विशिष्ट ब्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्य राख्ने वक्ताहरुले प्रवासमा रहेका माइती र चेलीहरूबीचको सम्बन्धलाई अझ प्रगाढ आत्मीय र सद्भावपूर्ण बनाउने उद्देश्यको साथ मनाइने यस पर्वले पारिवारिक एकता, आपसी सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने गरेको बताए ।
कार्यक्रममा कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले समाजको मातहतमा स्थापित तमु सांस्कृतिक परिवारमा आवद्व रहेका एक दर्जन भन्दा धेरै कलाकारहरूले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने गुरुङ समुदायको परम्परा र मौलिक संस्कृतिमा आधारित प्रख्यात सांस्कृतिक नृत्यहरू निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई साहित्यकार पुर्ण कान्छा गुरुङ र तेज गुरुङले चेलीहरुलाई सम्बोधन गर्दै वाचन गरेको कबिताले थप उत्साहित बनाएको थियो ।

दिउँसो करिब १ बजेबाट सुरु भएको कार्यक्रममा चेलीहरुले माईतीलाई टीका, टोपी र गलबन्दी अर्पण गर्दै सम्मान गरेका थिए । भने समाजको मातहतमा रहेको खेलकुद बिभागका माईतीहरुले चेलीहरुलाई कोशेली समेत प्रदान गरेका थिए । तमु समाजका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद गुरुङले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रवासको भूमिमा चेलीहरूले प्रदान गरेको माया, सम्मान र आत्मीयताले आफूहरूलाई थप उत्साह, प्रेरणा प्रदान गरेको बताए। उनले परदेशमा रहेका चेली माइतीबीचको आत्मीय सम्बन्ध आपसी सद्भाव सदैब अटल रहिरहने विश्वास व्यक्त गरे।
महिला विभागकी संयोजक तिलमाया गुरुङले कार्यक्रमको समापन गर्दै तमु समुदायको परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै प्रवासमा पनि माइतीलाई सम्मान गर्न पाउँदा खुसी भएको बताउँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् । गुरुङ समुदायमा वैशाख पूर्णिमा केवल धार्मिक दिन मात्र नभई नातागोता, चेली माइती सम्बन्ध, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने पर्वको रूपमा पनि लिने गरिन्छ ।




प्रतिक्रया दिनुहोस्