राष्ट्रपति पौडेल : ‘वीर पुर्खाको त्याग र बलिदानकै कारण आज हामी गौरवका साथ नेपाली भएर उभिएका छौँ’

वायु प्रधुशन
nepalijanatakhaba

राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाहरूको त्याग, बलिदान, साहस र वीरताकै बलमा आज नेपालीहरूले गर्वका साथ शिर उचो बनाएर विश्वसामु उभिन सकेको बताएका छन्।

शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक पक्षलाई आत्मसात् गर्न सके मात्र वर्तमानप्रति न्याय गर्न सकिने धारणा व्यक्त गरे।

उनले भने, ‘हामीले इतिहासका असल पक्षबाट प्रेरणा लिन सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ। यही बाटोले भविष्य निर्माणको सुनौलो आधार पनि तय गर्छ भन्ने मेरो विश्वास छ।’

राष्ट्रपति पौडेलले वीर पुर्खाहरूले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा तथा सुदृढीकरणका लागि दिएको योगदान र गरेको बलिदान सदैव सम्मानयोग्य रहेको बताए।

उनले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको आधारमा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रप्रेमप्रतिको आस्था र प्रतिबद्धता कुनै पनि अवस्थामा कमजोर हुन नहुने स्पष्ट पारे।

उनले भने, ‘यही एकताको शक्तिका आधारमा मुलुकलाई समृद्धितर्फ अघि बढाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावना जागृत गर्नुपर्छ। हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गर्दै सुशासनमार्फत देश विकासलाई तीव्र बनाऔँ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ।’

राष्ट्रपति पौडेलले भीमसेन थापालाई बहुआयामिक व्यक्तित्वका धनी राष्ट्रनेताको रूपमा स्मरण गर्दै उहाँ राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको पक्षमा जीवनभर अडिग रहेको उल्लेख गरे। उनका अनुसार देशभक्ति नै भीमसेन थापाको जीवनको मूलमन्त्र थियो।

उनले भने, ‘अङ्ग्रेजसँगको युद्धमा नेपालले ठूलो मूल्य चुकाउनुपरे पनि भीमसेन थापाको अटल राष्ट्रभक्तिपूर्ण अडानकै कारण नेपाल आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भयो।’

nepalijanatakhabar

समबन्धित समाचार