मलेसिया: पछिल्लो समय मलेसियामा नेपाली गीत–संगीत तथा म्युजिक भिडियो निर्माण केही सुस्ताएको हो कि भन्ने आभास भइरहेका बेला पुनः गीत–संगीत र छायांकनका गतिविधि बढ्न थालेका छन्। यसैक्रममा मलेसियामै छायांकन गरिएको नयाँ गीत ‘तिम्रो माया’ सार्वजनिक हुने तयारीमा रहेको छ।
गीतको म्युजिक भिडियोमार्फत भीम घलान तामाङ र डोमसाङ गोले तामाङ ले अभिनय क्षेत्रमा डेब्यु गरेका छन्। डोमसाङ गोले तामाङ मिस ट्यालेन्ट नेपाल २०२५ की विजेतासमेत हुन्।
गोर्खा घिसिङको शब्द तथा संगीतकार कबिन योन्जनको संगीत रहेको ‘तिम्रो माया’ गीतमा गायक सुरेन्द्र लामा र काजल बोम्जन ले सुमधुर स्वर दिएका छन्। गीत यही आइतबार क्वालालम्पुरस्थित एक होटलमा विशेष कार्यक्रमका बीच सार्वजनिक गर्ने तयारी भइरहेको भीम घलान तामाङले जानकारी दिए।
डम्फु मिडिया हाउस बाट सार्वजनिक हुन लागेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन कबिन योन्जन ले गरेका हुन्। भिडियो निर्माण तथा सार्वजनिक गर्ने कार्यमा जुगल लामा को समेत सहयोग रहेको जनाइएको छ।
मलेसियाका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियोले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ। भिडियोका छायांकार तथा सम्पादक कबिन योन्जनले मलेसियाका आकर्षक प्राकृतिक तथा पर्यटकीय स्थललाई भिडियोमा समेटिएकाले दर्शकले नयाँपनको अनुभूति गर्ने बताए।
मलेसियामा नेपाली कलाकार तथा सर्जकहरूको सक्रियता पुनः बढ्दै गएको अवस्थामा ‘तिम्रो माया’ ले नेपाली संगीतप्रेमी दर्शक तथा स्रोतामाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।




प्रतिक्रया दिनुहोस्