क्वालालम्पुर, २० नोभेम्बर २०२६। मलेसियाको अध्यागमन विभागले देशभरका ३४ वटा औद्योगिक तथा उत्पादनमूलक क्षेत्रमा एकैसाथ सञ्चालन गरेको विशेष छापा अभियानका क्रममा ५१९ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

मलेसियाली अध्यागमन विभाग (JIM) ले नोभेम्बर १८ देखि २० तारिखसम्म तीन दिन सञ्चालन गरेको देशव्यापी एकीकृत कारबाहीमा १ हजार ७०२ जनाको परिचय तथा कागजात जाँच गरिएको थियो। जसमध्ये विभिन्न अध्यागमनसम्बन्धी कसुरमा ५१९ जना विदेशी नागरिक पक्राउ परेका हुन्।
अध्यागमन विभागका अनुसार सार्वजनिक उजुरी, गुप्त सूचनाका आधारमा प्राप्त जानकारी तथा निरन्तर निगरानीपछि विदेशी कामदारको उल्लेख्य उपस्थिति रहेका उद्योग तथा कारखानालाई लक्षित गरी अभियान सञ्चालन गरिएको थियो।
कारबाहीमा अध्यागमन विभागका ५६९ जना अधिकारी परिचालन भएका थिए। उनीहरूलाई श्रम विभाग, राष्ट्रिय दर्ता विभाग, मलेसियाली सीमा नियन्त्रण तथा सुरक्षा निकाय र स्थानीय प्रशासनले सहयोग गरेका थिए।
पक्राउ पर्ने विदेशी नागरिकहरू २२ देखि ५६ वर्ष उमेर समूहका रहेका छन्। उनीहरूमा बंगलादेश, म्यानमार, नेपाल, इन्डोनेसिया, भारत, चीन, ताइवानलगायत विभिन्न देशका नागरिक रहेको अध्यागमन विभागले जनाएको छ।
क्लाङको मेरुस्थित कारखानामा ७१ जना पक्राउ
यसै अभियानअन्तर्गत सेलाङ्गोर राज्यको क्लाङस्थित मेरु क्षेत्रमा रहेको किला उत्पादन गर्ने एक कारखानामा गरिएको छापामा ७१ जना विदेशी नागरिक पक्राउ परेका छन्।
नोभेम्बर २० तारिख साँझ ६ बजेदेखि सञ्चालन गरिएको उक्त कारबाहीमा १३१ जनाको कागजात तथा परिचय जाँच गरिएको थियो। पक्राउ परेकाहरूलाई अध्यागमन हिरासत केन्द्रमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ।
रोजगारदाता र कारखाना सञ्चालक पनि अनुसन्धानको दायरामा
अध्यागमन विभागले यस अभियानमा विदेशी नागरिकलाई मात्र लक्षित नगरी गैरकानुनी रूपमा विदेशी कामदार राख्ने रोजगारदाता, कारखाना सञ्चालक तथा त्यस्ता गतिविधिलाई संरक्षण वा सहयोग गर्ने व्यक्तिहरूमाथि समेत अनुसन्धान गर्ने जनाएको छ।
देशभरको अभियानका क्रममा स्थानीय ४२ जनालाई थप अनुसन्धानमा सहयोग पुर्याउन साक्षीका रूपमा उपस्थित हुनुपर्ने पत्रसमेत जारी गरिएको छ।
अध्यागमन विभागले आगामी दिनमा पनि गुप्त सूचनाका आधारमा निगरानी तथा छापा अभियानलाई निरन्तरता दिने जनाएको छ।
मलेसियामा कार्यरत नेपाली कामदारहरूलाई आफ्नो राहदानी, भिसा, वर्क परमिट तथा अन्य आवश्यक कागजात वैध अवस्थामा राख्न र रोजगारदातासँगको कागजी प्रक्रिया पूरा भएको सुनिश्चित गर्न आग्रह गरिन्छ।
#Malaysia #ImmigrationRaid #JabatanImigresenMalaysia #MalaysiaNews #NepaliInMala
ysia #NepaliJanataKhabar.com




प्रतिक्रया दिनुहोस्