क्वालालम्पुर, मलेसिया। मलेसियाको अध्यागमन विभाग (JIM) ले सन् २०२६ जनवरी १ देखि नोभेम्बर २० सम्म देशभर १२ हजार ४७१ वटा कानुनी कारबाही तथा छड्के जाँच अभियान सञ्चालन गरेको छ।
अध्यागमन विभागका अनुसार उक्त अवधिमा दैनिक औसत ३७ भन्दा बढी अपरेसन सञ्चालन गरिएको थियो। ती अभियानका क्रममा १ लाख ६१ हजारभन्दा बढी विदेशी नागरिकको कागजात तथा अवस्था जाँच गरिएको छ।
जाँचका क्रममा ४६ हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ भने झण्डै ७५ हजार विदेशी नागरिकमाथि अध्यागमन कानुनअनुसार कारबाही गरिएको विभागले जनाएको छ।
मलेसियाको राष्ट्रिय सार्वभौमिकता, सीमा सुरक्षा र सार्वजनिक शान्ति कायम राख्न निरन्तर रूपमा अध्यागमन कानुन कार्यान्वयन गरिएको विभागको भनाइ छ।
विभागले विदेशी नागरिक तथा रोजगारदातालाई मलेसियाको अध्यागमन कानुन र नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। साथै अवैध रूपमा बसोबास तथा काम गर्ने विदेशी नागरिक (PATI) सम्बन्धी गतिविधिबारे सम्बन्धित निकायलाई सूचना दिन सर्वसाधारण र व्यवसायी समुदायलाई अनुरोध गरेको छ।
अध्यागमन विभागले कानुन उल्लङ्घन गर्ने गतिविधिप्रति कुनै छुट नदिने स्पष्ट पार्दै देशभर निरन्तर अपरेसन जारी रहने जनाएको छ।
स्रोत: मलेसिया अध्यागमन विभाग (Jabatan Imigresen Malaysia)




प्रतिक्रया दिनुहोस्