सरलता, निर्भिकता र स्वाभिमानका प्रतिमूर्ति संसारका सबै बाबाहरुमा नमन

 

अनि बाबाको मुख हेर्ने दिनको शुभकामना

बाबा तिमी साच्चिकै महान छौ !

सन्तानको खुसीको लागि सदैव

चर्खा झैँ आफ्नो उमेरलाई फनफनी घुमाएर ,

अँजुलीभरि सपनाको घान हालेर,

आफ्नो रहर र सपनाको बेवास्ता गर्दै ,

जीवनको प्रत्येक पल सन्तानको लागि खर्च गर्ने ,

बाबा तिमी साच्चिकै महान छौ !

 

तिमीले मेरो लागि घुमाईरह्यौ आफ्नो जीवनको चर्खालाई,

अाज बाबाको मुख हेर्ने दिन रे

जब अाँखा र मस्तिष्कमा तिम्रो

तस्बिर नाच्न थाल्यो ,तिम्रो अनुहार घुम्न थाल्यो ,

तब मैले महसुस गरे बाबा

साह्रै कठिन भएजस्ताे लाग्यो सास फेर्न ,

बन्द भए झैँ लाग्यो रगत बग्न ,

तिमी अनि तिम्रो जीवनको यात्रा सम्झिन पुग्छु,

अनि शान्त भएर सोच्छु एकछिन

बाबा तिमी साच्चिकै महान छौ !

 

तिम्रो संघर्षको अगाडि बाबा

मेरा सबै सपना धमिलो – धमिलो लाग्छ

किनकि मलाई सम्झना छ बाबा

मलाई पिठ्युँमा बोकेर ,

तिमी हातखुट्टा टेकेर घोडा बनेर घुमाएको सम्झिए,

म जीवनको पाँच , छवटा खुड्किला चढेपछि

मलाई मख्ख पार्ने गरि काखमा राखेर कथा सुनाएको सम्झिए,

साहुको खेतबारीमा हातमा ठेला उठुन्जेल,

काम गरि पसिना बगाएको सम्झिए,

तिमीसँगै मैले कोदालो खन्ने जिद्दी गर्दा,

तिमीले मेरो गाला सुमसुम्याउँदै स्नेहले,

छोरी तिमीले सक्दिनौँ अहिले हातमा घाउ हुन्छ भनेको सम्झिए,

अनि मनमनै सलाम गर्दै भने बाबा

बाबा तिमी साच्चिकै महान छौ !

 

मलाई अाफ्नो काँधमा बोकेर

जीवनका धेरै उकाली अोराली गर्यौ,

हातमा ठेला उठायौ बेस्सरी ,

मेरा लागि समाजसँग भिड्यौ,

र पनि बाबा मैले तिम्रो मुहारमा थकान देखिन

त्यसैले त भन्न मन लाग्छ बाबा,

बाबा तिमी साच्चिकै महान छौ !

 

जब म अाफ्नो जीवनको चक्र घुमाउन सक्ने भए

अाफैलाई थाहा छैन मेरो जीवन कसरी घुमिरह्यो,

जसले बाबाको त्याग तपस्या र पसिनाको मर्म बुझ्न सकिरहेको छैन,

लाग्दैछ बाबा मेरो जीवन काम नलाग्ने र अर्थहीन हुदैछ ,

किनकि बाबा तिमीले जस्तै मैले

परिवारको खुसीको लागि अाफूलाई अर्पण गर्न सकेको छैन,

यो समय र समाजसँग मुकाबिला गर्न सकेको छैन,

तिमीले दिएको अाँट र शक्तिलाई व्यवहारमा परिणत गर्न सकेको छैन,

लाग्छ बाबा मलाई म तिमीजस्तो बन्न सक्दिन

तर पनि म मौन रहेर ,

तिम्रो जीवनलाई सोच्छु र अगाडि बढ्न खोज्छुु

मैले जीवनमा जे जति परिस्थितिसँग सम्झौता गरिरहेको छु,

जे – जे परिणाम भोगिरहेको छु,

तिम्रो जीवनको यात्रालाई घरिघरि सम्झिन्छु बाबा

अनि सोच्छु,

बाबा तिमी साच्चिकै महान छौ !

मैले त मेरो सपना पूरा गर्ने दौडाहामा

तिम्रो दु:ख, सपना र खुसीलाई बिर्सन पुगेछु बाबा

अहिले बिस्तारै अात्मसमिक्षा गर्दै छु बाबा

म वास्तवमा स्वार्थी बने तिमीजस्तो त्यागी बन्न सकिन ,

अहिले अाफैलाई धिक्कार गर्दै भन्न मन लाग्छ बाबा

तिमी साच्चिकै महान छौ !

सन्तानको खुसीको लागि बाँच्ने ,

जीवनलाई सन्तानको लागि अर्पण गर्ने ,

सरलता , निर्भिकता र स्वाभिमानको प्रतिमूर्ति बाबा

बाबा तिमी साच्चिकै महान छौ !

बाबा तिमी साच्चिकै महान छौ!

सम्बन्धित समाचार