२५ वर्षपछि ‘महापुरूष’ हेर्न फिल्म हलमा पुगे कुलमान घिसिङ !

काठमाडौं – लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फिल्म ‘महापुरुष’ हेरेका छन् ।

शनिबार चावहिलको एफएक्युब हलमा सपरिवार पुगेर उनले फिल्म हेरे । महजोडीको अभिनय रहेको र हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए ।

हेरेपछि प्रतिक्रिया दिंदै घिसिङले आफूलाई मन पर्ने सामाजिक विषयवस्तुमा फिल्म बनेको बताए । ‘राम्रो कथा र नेपाली समाजसँग जोडिएको विषय,’ घिसिङले भने, ‘मनभित्रको अन्धकारलाई हटाउँदै खुसी हुनुपर्छ भन्ने सन्देश दिएको छ । फिल्म राम्रो बनेको छ ।

फिल्मले उठान गरेको कथावस्तु र अभिनयको प्रंशसा पनि गरे । घिसिङलाई दर्शकको रुपमा पाउँदा उत्साहित भएको निर्देशक प्रदीप भट्टराईले बताए । हामीले अँध्यारोमा गुम्सिएको आमाबुवालाई उज्यालो दिने प्रयास गरेका हौं ।

आज उज्यालोको देउतालाई दर्शकको रुपमा पाउँदा सफल भएका छौं,’ निर्देशक भट्टराईले भने, ‘हल भिजिटमा पाएको प्रतिक्रियाले दर्शकसँग जोडिएको फिल्म बनाए भन्ने लागेको छ । कलाकारहरु अरुण क्षेत्री र अञ्जना बराइली पनि हलमा पुगेका थिए ।

निर्माता दीपेश खत्रीले फिल्ममार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयास गरेको बताए । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ र सिरु विष्टको अभिनय छ ।

कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् ।

सम्बन्धित समाचार