कतार विश्वकप : समूह चरणका खेल सकिए, कुन-कुन टिम पुगे नकआउट चरणमा ?

प्रकाश दर्नाल’शितल’

दोहा, कतार : कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह चरणका सबै ४८ खेल सम्पन्न भएका छन् । समूह चरणका खेल सकिँदा अपराजित रहने टिममा नेदरल्याण्ड्स, इंग्ल्याण्ड, अमेरिका, मोरक्को र क्रोएसिया छन् । सहभागी ३२ वटै टिमले समूह चरणमा कम्तीमा एक गोल व्यहोरेका छन् ।

 

ब्राजिल, अर्जेन्टिना, फ्रान्स, पोर्चुगल र जापान समूह चरणमा एक खेल हारेर पनि समूह विजेता बनेका छन् । विश्वकप २०२२ को नकआउट चरणको समीकरण पूरा भए सँगै अन्तिम १६ को टुंगो लागेको छ ।

 

जसमा नेदरल्याण्ड्स विरुद्ध अमेरिका, अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया, फ्रान्स विरुद्घ पोल्याण्ड, इंग्ल्याण्ड विरुद्ध सेनेगल, जापान विरुद्ध क्रोएसिया, ब्राजिल विरुद्ध दक्षिण कोरिया, मोरक्को विरुद्ध स्पेन र पोर्चुगल विरुद्ध स्विट्जरल्याण्ड रहेका छन् ।

 

शनिबार बिहान भएका समूह चरणका अन्तिम खेलपछि समूह विजेता बन्दै ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको थियो । क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ १६ मा पुगेको हो ।

 

लुसेल स्टेडियममा भएको खोलमा क्यामरुनको जितको पक्षमा भिन्सेन्ट अबुबाकरको गोल निर्णायक बन्यो । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । गोल लगत्तै उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

 

गोल गरेको खुसीयाली मनाउन जर्सी फुकालेपछि उनले दोस्रो पहेलो कार्ड पाएका थिए । यस हारसँगै ब्राजिल ३ खेलमा ६ अंक सहित समुहको शीर्ष स्थानमा रहेको छ । क्ययामरुन ३ खेलमा ४ अंक जोड्दै समूह चरणबाट बाहिरिएको छ ।

 

शनिबार बिहानै सम्पन्न अर्को खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्याण्ड राउण्ड अफ १६ मा पुगेको छ । खेलको २० औ मिनेटमा शेरदान शाकिरीले स्विट्जरल्याण्डका लागि पहिलो गोल गरे भने २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा ल्याए । ३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २-१ को अग्रता दिलाए । स्टेडियम ९७४ मा भएको खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई २-२ को बराबरीमा ल्याए ।

 

त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्याण्डलाई ३-२ को जित दिलाए । यस जितसँगै स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्याण्डले ३ खेलमा ६ अंक जोड्यो भने सर्बिया ३ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

 

सम्बन्धित समाचार