काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने भएकाे छ । आज आइतवार बसेकाे पार्टीकाे बैठकले गृहमा दाबी यथावत् राख्ने निष्कर्ष निकालेकाे हाे ।
बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता मुकुल ढकालले भन्नुभयो, ‘समस्या समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयको बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ । गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ ।’ उहाँले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताउनुभयो ।
यसैबीच रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । आज बसेकाे पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो ।
आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट कानुनबमोजिम पुनः नागरिकता प्राप्त गर्नुभएको थियो । उहाँले यसअघिको नागरिकताका आधारमा बनाएको राहदानीसमेत राहदानी विभागमा बुझाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्