भाेलिदेखि काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडी नचलाउने व्यवसायीकाे चेतावनी 

काठमाण्डाै – यातायात व्यवसायी तथा मजदुरहरूले भोलि मङ्गलवारदेखि काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् ।

ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि छ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध आज साेमवार सडकमा प्रदर्शन गरेका उनीहरूले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका हुन् । आज उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै गाडी तेर्स्याएर प्रदर्शन गरेका थिए ।

सुरुमा ट्राफिक नियम मिच्दा हुने गरेको जरिबाना बढी भएको भन्दै विरोध भएको र यातायात व्यवसायीसँग भएको वार्तापछि पनि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताउनुभयो । उहाँका अनुसार मजदुरले माइक्रोलाई पनि बस पार्कभित्र लान पाउनुपर्ने मागसमेत राख्दै आएका छन् । यही विषयमा बसपार्कमा भएको विवादका कारण झडप भएको उहाँले बताउनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले निकालेको संयुक्त विज्ञप्तिमा नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्सेका कर्मचारीसहित ३० जनाले मजदुरमाथि हातपात गरकाले प्रदर्शन चक्काजाम गरेको उल्लेख छ । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीभन्दा प्रहरीले उल्टै मजदुरमाथि बल प्रयोग गरेको उनीहरूको आरोप छ ।

मजदुरहरूको प्रदर्शनका कारण आज दिनभर बालाजुको गोङ्गबु, नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ ।

 

सम्बन्धित समाचार