दलित एकता संजाल कतारको छात्रवृत्ति सहयोगार्थ बनभोज तथा सास्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न……

दोहा कतार, दलित एकता संजाल कतारको गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति सहयोगार्थ बृहत सास्कृतिक तथा बनभोज कार्यक्रम शुक्रबार सभ्य, भब्यरुपमा सम्पन्न भएको छ ।

संजालकी प्रमुख संरक्षक इन्दु लावरको प्रमुख आतिथ्य र अध्यक्ष किरण परियारको सभापतित्वमा कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुखज्युहरु, बैचारिक संघ सस्थाको प्रमुखज्युहरु, समजसेवी, बुद्धिजीवीहरुको बिशेष आतिथ्यता साथै पत्रकारहरु, कलाकारहरु र उल्लेखनीय दर्शकहरुको उपस्थितमा बिधिवत रुपमा दियो बालेर ब्यानर अनावरण गरि पन्चेबाजा बजाएर राष्ट्रिय गान र साजना स्वर्णकारको उत्कृष्ट स्वागत नृत्य सङै औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरिएको थियो ।

संजालका वरिष्ठ उपाध्यक्ष प्रकाश बिश्वकर्माले सस्थाको लक्ष्य उद्देश्य र कामको बिषयमा प्रष्ट पार्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा धेरै वक्ताहरूले दलित हकहितको लागि कसैले चासो नदिएको र आगामी दिनहरुमा यो बिषयलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने साथै अन्य समुदायहरुले पनि दलित समुदाय प्रति राख्ने नजर परिवर्तन गरि समानान्तर समाज निर्माणमा एक भएर लाग्नु पर्ने जस्तो महत्त्वपूर्ण कुराहरु मन्तव्यको क्रममा राखेका थिए ।

साथै प्रमुख अथिती लावरले कार्यक्रममा बोल्दै नेपाली समाजमा राजनीतिक ब्यबस्था परिवर्तन भए पनि कानुन फेरिएर सबै समुदायहरुको हकहितको प्रष्ट नितिनियमहरु उल्लेख गरेर छुवाछूत मुक्त राष्ट्र घोषणा गरि यस बिषयमा पटक पटक बहस बिश्लेशन भए पनि ब्यबहारिक रुपमा अझै पनि दलित र पिछडिएका बर्ग समुदायहरुले उहीँ पुरानो परम्परागत व्यबहार भोग्नु परिरहेको देख्दा दु:ख लागेको बताउदै अब सम्पूर्ण दलित समुदायहरु एक भएर आफ्नो हकहितको लागि खरो रुपमा प्रस्तुत हुन जरुरी भएको धारणा व्यक्त गर्नु भएको थियो ।

त्यस्तै नेपाल मगर संघ शाखा कतारका सचीव, महिला समाज कतारकी कोषाध्यक्ष मेनुका खतिवडा, प्रेम रसाइली राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिबराम ढकाल लगायत  विभिन्न जातीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेशका प्रमुख तथा प्रतिनिधिहरुले दलित समुदायहरुको बिषयमा आफ्नो महत्त्वपूर्ण भनाइहरु राखेका थिए ।

संजालका महासचिव क्षितिज गैरेले सहजीकरण गरेका कार्यक्रम अबधिभर कतारमा उच्च चर्चामा रहेका कलाकारहरु रेश्मा सेन्चुरी, मानसिङ निर्दोष परियार, बाबू कौशल, देब घिमिरे, साजना स्वर्णकार, शान्ति वली, दिपेन्द्र सुनार, सुरेश बिसी लगायतका कलाकारहरुले आ-आफ्नो  साङ्गीतिक प्रस्तुतिहरु पेस गरेका थिए,भने प्रत्यक्ष पन्चेबाजाले दर्शकहरुलाई अझै धेरै आकर्षित पारेको थियो ।

अन्तमा सभापति किरण परियारले आमन्त्रित सबैलाई समयमै उपस्थित भएर कार्यक्रम सभ्य भब्य रुपमा सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई आभार ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

“दलित एकता आजको आवश्यकता, छुवाछूत मुक्त समाज निर्माणमा सम्पुर्ण नेपालीहरुको सहभागिता”भन्ने मुल नारा सहित २०१३ मा स्थापना भएको दलित एकता संजाल कतारले नेपालमा भइ परि आउने हरेक आपत बिपत्तमा कुनै न कुनै हिसाबले सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार