ओखलढुंगाको पोकलीमा सुनुवार कोइँचले आयोजना गरेको दुइदिने साँस्कृतिक महोत्सव सुरु…..

ओखलढुंगा / ओखलढुंगाको पोकलीमा सुनुवार कोइँच साँस्कृतिक महोत्सव सुरु भएको छ, जिल्लाको लिखु गाउँपालिका ९ पोकलीको वाच्पुमा दुईदिने महोत्सव सुरु भएको हो ।

महोत्सवको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले मंगलबार उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले सरकारले कला संस्कृति संरक्षणमा विशेष योजना सहित काम अघि बढाएको बताए । कार्यक्रममा उनले पोकली क्षेत्रको पर्यटन, प्रवर्द्वन र जिल्लाका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

कार्यक्रममा अर्का कांग्रेस नेता तथा संघीय सांसद रामहरी खतिवडाले जिल्लाको पर्यटन प्रवर्द्धन र समग्र जिल्लाको विकासका लागि आफु जुटिरहेको बताए । उनले जिल्लामा केन्द्रिय विद्युत विस्तारको काम धमाधम भइरहेको बताउदैँ आगामी एक बर्ष भित्र जिल्लाको सबै गाउँटोलमा केन्द्रिय विद्युत बल्ने जानकारी गराए ।

कार्यक्रममा कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सुनवार जाति सहित अन्य जातजातिको कला, संस्कृति संरक्षण र प्रवर्द्धनमा नीतिगत पहल गर्ने पनि  बताएका थिए ।

सुनुवार जातिको कला संस्कृति र रितिरिवाज, भाषा, लिपि तथा धार्मिक एवंम पर्यटकीय ऐतिहासिक स्थलहरुको सरंक्षण प्रवर्द्धन गर्ने उद्वेश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आर्थिक तथा प्रचारप्रसार समितिका संयोजक पशुपति सुनुवारले बताए । महोत्सवले पोकली र सुनुवार समुदायको संस्कृति प्रचारप्रसारमा टेवा पुग्ने उनको भनाई छ ।

सुनुवार सेवा समाज, हिमचुली जनजागरण युवा क्लब र पोकली झरना सेवाको संयुक्त आयोजनामा भएको महोत्सवको पहिलो दिन औपचारिक कार्यक्रममा अतिथिहरुले सम्बोधन गरेका थिए।

सुनुवार जातिको कला संस्कृति श्यादर शिल, तामाङ सेलो, शेर्पा जातिको स्याब्रु नाच र मगरहरुको मौलिक नाचको साथमा अन्य झाँकीहरु प्रदर्शन साथै सुनुवार परिकार खाना पुस्तक प्रदर्शनी भेषभुषाहरु राखिएको स्थानीय उद्धव बिष्टले बताए ।

महोत्सवको दोस्रो दिन आज बुधबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनता खबरलाई जानकारी गराएका छन ।
पोकली नजिकको वाच्पु सुनुवारको बाहुल्यता भएको गाउँ हो । यहाँका सुनुवारको भाषा, संस्कार र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमहरु हुने गरेका छन भने देशको सय पर्यटकिय गन्तव्य सुचिमा रहेको पोकली झरनाको नाम समेत सुनुवार भाषाबाटै रहेको किंवदन्ती छ ।

पोकली झरना सेवा समाज र स्थानीयको अगुवाइमा २०६५ सालदेखि मेला महोत्सव हुँदै आएका छन् । महोत्सवले त्यसक्षेत्रको पर्यटकीय पुर्वाधार विकास र प्रचारप्रसारमा टेवा पुगेको छ । फलस्वरुप पछिल्ला वर्षहरुमा पोकली घुम्न र स्थानीय संस्कृति र अर्गानीक परिकारमा रम्न आउने पर्यटकको संख्या बढेको छ ।

सम्बन्धित समाचार