अर्थतन्त्रबारे राष्ट्रियसभामा हल्लाखल्ला रेमिट्यान्सले मात्रै देश धान्दैन….

काठमाडौं। पछिल्लो समय मुलुकमा खस्किँदै गएको अर्थतन्त्रबारे राष्ट्रियसभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक महत्वको प्रस्तावसहित आजको बैठकमा राष्ट्रियसभा सदस्यहरुले मुलुकको अर्थतन्त्र लयमा ल्याउन कसरत नभए देश टाँट पल्टिने खतरा रहेको औँल्याएका छन् ।

 

आयात प्रतिस्थापन हुन नसक्नु, निर्यात नबढ्नु, डलरको सञ्चिति घट्दै जानु अर्थतन्त्रमा देखिएको तरलताका मुख्य कारणहरु हुन्। रेमिट्यान्सले मात्रै धानेको मुलुकमा विकास र समृद्धिको कल्पना गर्न नसकिने उनीहरुको भनाइ छ । विश्वयुद्ध हुने खतरा बढेमा, विश्व महामारीमा गएमा विप्रेषण आउन बन्द हुने राष्ट्रियसभा सदस्य गरिमा शाहको भनाइ छ । अर्थतन्त्र सुधार्नका लागि पूजीगत खर्च बढाउने, बजेट समयमा खर्च गर्ने बानीको विकास हुनुपर्ने शाहको भनाइ छ ।

मुलुकका आर्थिक परिसूचकहरु चुनौतिपूर्ण र दबाबमा रहेको बताउँदै राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले अर्थतन्त्र सुधार्न राजनीति सुधार्नुपर्ने बताउनुभयो । कृषि, जलस्रोत, वनमा आधारित उद्योगलाई बढी प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालको अर्थतन्त्रमा संरचनागत त्रुटि रहेको राष्ट्रियसभा सदस्यहरुको भनाइ छ। व्यापार घाटा निकै बढेको बताउँदै राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले राजश्व संकलन निकै घटेको बताउनुभयो । अर्थिक वर्षको अन्तमा बजेट रकामान्तर गर्दा पनि समस्या चुलिँदै गएको छ ।

 

राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले कोभिडको असर, उत्पादन कम हुनु, आयात बढ्नु अर्थतन्त्र खस्किनुका मुख्य कारण रहेको बताउनुभयो। मुलुकमा भएका उद्योगधन्दालाई चलायमान बनाउनुपर्ने र विद्युत निर्यातमा ध्यान दिनुपर्ने राईको सुझाव छ ।

 

सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेका धारणाको जवाफ फर्काउँदै अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र डामाडोल भएको नभइ सामान्य समस्या र दबाब बढेको बताउनुभयो।

 

अर्थतन्त्र लयमा नआउँदा मुलुकको परिस्थिति जटिल बन्दै गएको छ । आर्थिक गतिविधि बढाउने छलफलको साँटो राज्यले दिँदै आएका सेवासुविधा कटाउने तर्फ बहस केन्द्रीत बन्नु बिडम्बना देखिएको छ । यो मुलुक कृषि, जलस्रोत र वनमा अब्बल भएको नाताले यी क्षेत्रहरुलाई सुधारका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ । सांसदले बोल्ने मन्त्रीले सुन्ने र कार्यान्वयनमा नआउने पद्धतीलाई हटाइनुपर्दछ ।

सम्बन्धित समाचार