एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपालले हात पर्यो बधाई काे ओइरो

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपालले यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आजको खेलमा यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा भेट्टायो । नेपाल सात विकेटले विजयी भयो ।

 

आजको खेलमा नेपालका गुलसन झाले अविजित सर्वाधिक ६७ रन बनाए । उनले ७५ बलमा अर्धशतक पूरा गरे । त्यस्तै भीम सार्कीले ३६ रन जोडे । रोहन मुस्ताफाले २ तथा आयान खानले १ विकेट लिए । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अल आउट भएको थियो ।

हिजो वर्षाका कारण २७ ओभर ३ बलमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा आज ११ रन जोड्दै यूएई १ सय १७ रनमा अल आउट भयो । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाए । यूएईका कप्तान मोहम्मद वासिम ११ रनमा क्याच आउट भएका थिए । यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भएका थिए ।

युएईलाई पराजित गरेर नेपालले पहिलो पटक एसिया कप खेल्ने भएको छ । एसिया कपमा स्थान बनाएको नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान २ तथा सोमपाल कामी र गुलशन झाले समान एक विकेट लिए ।

 

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता नेपाल समूह ‘ए’ मा तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।

सम्बन्धित समाचार