कार्यक्रम नै प्रसारण नगरी भुक्तानी लिने दाउमा रेडियो तीनलाल,गत साउनदेखि रेडियो बन्द 

रामेछाप: हरेक क्षेत्र र विषयका राम्रो नराम्रो दुवै पक्षकोबारेमा सत्य, तथ्य र निष्पक्ष जानकारी गराउने कार्य पत्रकारिता हो । पत्रकारितालाई राज्यको चौथो अंगका रुपमा लिने गरिन्छ । पत्रकारिता र आमसञ्चारबीचको सम्बन्ध नङमासुको जस्तै हुन्छ । नागरिकले सूचना प्राप्तिको महत्वपूर्ण स्रोतको रुपमा आमसञ्चारका माध्यमहरु मध्ये पनि रेडियो, टेलिभिजन, मूलधारका अनलाइनलाई लिने गर्दछन् ।

 

तर सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाहको विश्वासिलो माध्यम बन्नुपर्ने रामेछापको एउटा रेडियो कामै नगरी भुक्तानी लिने दाउमा देखिन्छ । त्यति मात्रै होइन कतिपय रेडियोले प्रसारण नै नभएको रेडियोबाट समेत कार्यक्रम प्रसारण भइरहेको भनेर गलत प्रचार गरिरहेका छन् । गलत कुराको खबरदारी गर्ने भूमिकामा रहेका आमसञ्चारका माध्यमहरु गलत प्रचारमा लाग्नुले सञ्चार माध्यमको निष्पक्ष भूमिकामाथि नै प्रश्न खडा भएको छ ।

 

अहिले जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिकासँगको आर्थिक सहायतामा रेडियोले क्रमशः ‘हाम्रो मन्थली र हाम्रो रामेछाप’ कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका छन् । मन्थली नगरपालिकासँग रेडियो तीनलालले कार्यक्रम प्रसारण बापत १ लाख ४ हजार ५ सय रुपैयाँ लिने सम्झौता गरेको छ । जिल्लामा अहिले ६ वटा रेडियो छन् । ती मध्ये अहिले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झङ्कार र रेडियो इनर्जी प्रसारणमा छन् । जिल्लाको पहिलो व्यवसायिक रेडियो तीनलाल भने गत जेठदेखि बन्द छ । रेडियो तीनलालमा कार्यरत एक कर्मचारीका अनुसार गत जेठदेखि समस्या आएपछि रेडियो प्रसारण बन्द भएको र बीचमा सामान मर्मत गरेर ल्याएपछि केही दिन प्रसारणमा आएको थियो ।

 

गत साउनदेखि भने पूर्ण रुपमा प्रसारण बन्द रहेको उनको भनाई छ । ती कर्मचारीले भने,‘ जेठमा समस्या आयो क्यारे, समस्या आएपछि तीन पटक बनाएर ल्याए, त्यसपछि चाहिँ बनाउनै छोड्देको, प्रसारण नै साउनदेखि बन्द छ । तर यसरी बन्द अवस्थामा रहेको रेडियोबाट कार्यक्रम प्रसारण भइरहेको भन्दै जिल्लाका पाँच वटा रेडियोले दुषप्रचार गरिरहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि नियमित उत्पादन र प्रसारण भइरहेको कार्यक्रम हाम्रो मन्थली १३ अंक प्रसारण भइसकेको छ भने हाम्रो रामेछाप २२ अंक प्रसारण भइसकेको छ । यी कार्यक्रम रेडियो तीनलालबाट भने अहिलेसम्म एक अंक पनि प्रसारण भएको छैन । अरु रेडियोले भने प्रसारण भएको भनेर दुषप्रचार गरिहेका छन् । यसबाट रेडियो तीनलाल कार्यक्रम प्रसारण नै नगरी भुक्तानी लिने दाउमा देखिन्छ । प्रसारण बन्द भएको रेडियोले कार्यक्रम प्रसारण गर्छु भनेर सम्झौता गर्नु र अन्य रेडियोले पनि प्रसारण बन्द भएको रेडियोबाट कार्यक्रम प्रसारण भइरहेको छ भनेर प्रसार गर्नुले रेडियो तीनलाल काम नै नगरी भुक्तानी लिने दाउमा रहेको स्पष्ट संकेत गर्दछ ।

 

यसरी कार्यक्रम प्रसारणको सम्झौता गरेर आफ्नो कार्यक्रम प्रसारण भए नभएकोबारे अनुगमन नगरी बस्नुले स्थानीय तह पनि कति गैरजिम्मेवार छन् ? भन्ने कुरामो यसले बल पु¥याएको छ । यसरी नागरिकले तिरेको करबाट जम्मा भएको राज्य कोषको अनावश्यक दोहन गर्ने कुरामा मिडिया नै लाग्नुले नागरिकको कर उचित ठाउँमा लगानी हुने कुरामा थप संशय पैदा भएको छ ।

 

सम्बन्धित समाचार