धादिङ सेवा समाज, कतार को ७औं अधिवेशन सम्पन्न नेतृत्वमा घले….

दोहा कतार – धादिङ सेवा समाज कतारको ७औं अधिवेशन शुक्रबार ग्रान्डमल स्थित रेड चिल्ली रेस्टुरेन्टमा सम्पन्न भएको छ । अधिबेशनबाट नेत्रावती डवजोङ कटुन्जेका आयुष घलेको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

समाजका तदर्थ समितिका संयोजक सोमनाथ कडेलको सभापतितव, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता र कतारमा स्थापित विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियन्ता, मिडियाकर्मी, पत्रकार, कलाकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरणमा मनिष गोस्वामी, मानसिङ निर्दोष परियार, विष्णु भुजेल लगायतका कलाकारहरुले साङ्गीतिक प्रस्तुति पस्केका थिए भने तदर्थ समितिका सचिव आयुष घलेले कार्यक्रमको सहजीकरण आयुष घलेले गरेका थिए ।

खुल्ला सत्र कार्य सकिए लगतै सुरु भएको बन्द सत्र कार्यक्रमले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो जस्मा अध्यक्षमा आयुष घले, प्रथम उपाध्यक्षमा गौतम तामाङ, द्वितीय उपाध्यक्षमा उषा रिमाल, महासचिवमा रामहरि श्रेष्ठ, सचिवमा अम्बर बहादुर गुरुङ, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अनिता तामाङ चयन भएका छन् । यस्तै कार्य समितिका सदस्यहरूमा गणेशकुमार श्रेष्ठ, विनोद गोले, हरिप्रसाद ढुङ्गाना, गणेश अर्याल, राधिका परियार र सङ्खराम तामाङ चयन भएका छन् । सर्व सम्मत चयन भएको नव कार्यसमितिलाई निर्वाचन समितिका संयोजक धिरेन तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

सन् २००१ मा धादिङ सेवा समाज कतार नामकरण गरी स्थापना गरिएको समाजको सन् २००७ मा नाम परिवर्तन गर्दै धादिङ युवा समूह नामकरण गरी दुई कार्यकाल अधिवेशन सम्पन्न गरे पनि करिब १४ वर्षदेखि सुस्ताएको संस्थाको पुन: तदर्थ समिति निर्माण गर्दै अधिवेशन सम्पन्न गरेको हो । बन्द सत्र कार्यक्रमले समाजको नाम “धादिङ सेवा समाज कतार” नै नाम रहने गरी विधान समेत पास गरेको छ ।

 

सम्बन्धित समाचार