दोहा,कतार- नेपाली महिला समाज कतारको १५औं स्थापना दिवस तथा छैटौं अधिवेशन शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्रबाट शुष्मा खतिवडा कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
त्यस्तै नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा मेनुका खतिवडा भण्डारी, द्वितीय उपाध्यक्षमा माया खड्का कुँवर, तृतीय उपाध्यक्षमा लीला राई, महासचिवमा शारदा भुजेल, सचिवहरूमा दीपा सिंह र रविना पुलामी मगर, कोषाध्यक्षमा गीता पुन थापा तथा सह-कोषाध्यक्षमा सबिता दाहाल भट्टराई चयन भएका छन् भने कार्यसमिति सदस्यहरूमा सुनिता कोइराला आचार्य, उषा परियार, निशा पराजुली, अनिता राई, सम्झना गुरुङ, कला घिमिरे, रोशनी घिमिरे, सुनिता आचार्य, सलिमा मियाँ, तारा बिसी, सन्ध्या भण्डारी, शान्ता कटुवाल, प्रेमकला राई, सीता बिक, शर्मिला चौधरी र गन्धवी चौधरी सर्वसम्मत चयन भएका छन् ।

कतारस्थित होलिडे भिल्लाको पन्ना सभा हलमा समाजकी अध्यक्ष माया केसीको अध्यक्षता तथा कतारका लागि नेपाली कार्यवाहक राजदूत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव मेनुका खतिवडा भण्डारीले संस्थाले साढे दुई वर्षमा गरेका गतिविधि तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साथै कोषाध्यक्ष दीपा सिंहले १ लाख २१ हजार ७ सय ४६ रियाल आम्दानी र १ लाख १७ हजार ५ सय ८९ रियाल खर्च भई ४ हजार १ सय ५७ रियाल बचत रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
उद्घाटन सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन सत्रमा कतारस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, कलाकारलगायत नेपाली समुदायका महिलाहरूको बाक्लो उपस्थिति थियो भने कार्यक्रममा बोल्ने वक्ताहरूले संस्थाको १५ वर्षे यात्राको समीक्षा गर्दै महिला सशक्तीकरण, सामाजिक एकता तथा परोपकारी अभियानमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू तथा मानार्थ सदस्यहरूले विगतको संघर्षपूर्ण यात्राको स्मरण गरेका थिए । उनीहरूले संस्थाको स्थापना र विकासमा कतारका लागि तत्कालीन नेपाली राजदूत मायाकुमारी शर्माले पुर्याएको विशेष सहयोग र भूमिकाप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा संस्थाका वर्तमान कार्यसमितिका पदाधिकारी, संस्थापक, पूर्व अध्यक्ष र प्रमुख सल्लाहकारहरू लाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । साथै, प्रमुख अतिथि राईलाई दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो भने नेपाली दूतावासका जनसम्पर्क अधिकारी अलताज मिर्घानी अ जाएदलाई नेपाली श्रमिक तथा महिलाहरूको समस्या समाधानमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो भने संस्थामा विशेष योगदान पुर्याउने सामाजिक व्यक्तित्वहरु रमेश भट्ट, तेज कटुवाल र केशव कार्कीलाई मानार्थ सदस्यका रूपमा मनोनयन गरेको छ ।

कार्यक्रममा प्रथम उपाध्यक्ष सन्ध्या अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् भने कलाकार टीका मगरको स्वागत नृत्य र गायिका तारा बिसीको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रमका समाजले आफ्नो नयाँ सदस्यता परिचयपत्र समेत सार्वजनिक गरेको थियो । संस्थाकी पूर्व अध्यक्ष अमिना खानलाई उक्त कार्डको पहिलो नमुना हस्तान्तरण गर्दै यसको औपचारिक शुभारम्भ गरिएको थियो । समाजले सात वटा विभिन्न कम्पनी तथा व्यवसायसँग सहकार्य गरी सदस्यता कार्डमार्फत विशेष छुट र सुविधाको व्यवस्था गरेको जानकारी गराइएको थियो । संस्थाले सदस्यता कार्डलाई केवल परिचयपत्रमा सीमित नराखी सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने सुविधा र सहुलियत सँग जोडिएको प्रभावकारी माध्यमका रूपमा विकास गरेको जनाएको छ ।
समाजले विभिन्न समयमा सहकार्य गर्ने संघसंस्था, दाता र सञ्चारकर्मीहरू लाई समेत सम्मान पत्रद्वारा सम्मान गरेको थियो । कार्यक्रममा पाल्पाली सेवा समाज र तमु (गुरुङ) समाज कतारले नेपाली महिला समाजसँगको सहकार्य र सद्भावको प्रतीक स्वरूप उपहार प्रदान गरेका थिए ।

प्रमुख अतिथि राईले शुभकामना मन्तव्य राख्दै कतारमा रहेका नेपाली महिलाको सशक्तीकरणका लागि अझ सशक्त कार्यक्रम आवश्यक रहेको बताए । उनले संवैधानिक हक-अधिकारको व्यावहारिक कार्यान्वयनमा जोड दिन आग्रह गरे । अधिवेशनको उद्घाटन सत्रको समापन गर्दै अध्यक्ष केसीले संस्थाको ‘कल्याणकारी कोष’ स्थापना गर्ने पूर्वअध्यक्ष अमिना खानको सपना साकार भएको घोषणा गरिन् । आपत्कालीन अवस्थामा रहेका महिलाहरू लाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कोषका लागि अमिना खानकै संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको निर्देशिका हस्तान्तरण गरिएको थियो ।

नवनिर्वाचित कार्यसमिति लाई निर्वाचन समितिकी संयोजक अमिना खानले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।





प्रतिक्रया दिनुहोस्