आश्विन ०२ गते बुधवारको हेर्नुस् राशिफल सेयर गरी पाथीभरा माताको दर्शन गर्नुहोस् 

आजको पञ्चाङ्ग : वि.सं. २०८१ आश्विन ०२ गते बुधवार तदनुसार ई. सं. २०२४ सेप्टेम्बर १८ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, चन्द्रोदय : साँझ ०५:५७ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि चन्द्रास्त हुँदैन, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०६:१० बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) पूर्णिमा तिथि, बिहान ०८:४७ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पूर्वाभाद्रा नक्षत्र, दिउँसो १२:५५ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, बिहान ०७:२० बजेसम्म, त्यसपछि मीन राशिमा, शूल योग, बिहान ०६:०४ बजेसम्म, त्यसपछि गण्ड योग मध्यरात्रीपछि ०२:५९ बजेसम्म, अन्तिममा बृद्धि योग (योग टुटेको दिन) , सुरुमा बब करण बिहान ०८:४७ बजेसम्म, त्यसपछि बालब करण बेलुका ०७:३४ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : पद्म, चन्द्रवर्ण : कालो (बिहान ०७:२० बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : पश्चिम (बिहान ०७:२० बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : वायव्य (बिहान ०८:४७ बजेसम्म), त्यसपछि पूर्व, वारशूल : उत्तर, धनिष्ठा पञ्चक÷सरुन परेको दिन, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो १२:०४ बजेसम्म त्यसपछि अग्नि वाण, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : सोह्रश्राद्ध सुरु, सोह्र श्राद्धअन्तर्गत प्रतिपदा श्राद्ध, चोनम पर्व (चेपाङ समुदाय), उमामहेश्वर व्रत, इन्द्रदह स्नान, भक्तपुरमा सिद्धपोखरी मेला, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगया, मंगया (नेवारहरूको पर्व), लौहपुरुष गणेशमान सिंह स्मृतिदिवस, परिवार नियोजन दिवस

मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०३ गते : सोह्र श्राद्धअन्तर्गत द्वितीया श्राद्ध, पुञ्चली भुजा (नेवारहरूको पर्व), संविधान दिवस, ०४ गते : सोह्र श्राद्धअन्तर्गत तृतीया श्राद्ध, गातिला, मुहूर्त : अन्नप्राशन (पास्नी), ०५ गते : सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, इन्द्रध्वज पातन (नानीचाया), साहित्यकार भैरव अर्याल जयन्ती, विश्व शान्ति दिवस, विश्व कृतज्ञता दिवस

 

 

 

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके÷ताकेका काम पूरा गर्न सजिलो हुनेछ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गङ्गाधराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सम्मान प्राप्त हुने समय छ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत आजको दिन राम्रो देखिन्छ । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो÷सुन्तले र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । आत्मविश्वासमा बृद्धि हुनाले हाँकेताकेको काममा सफलता प्राप्त हुनेछ । प्रेमप्रसङ्ग र भावनात्मक क्रियाकलापमा समेत भुलिन सक्नुहुन्छ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ रातो÷हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । घरायसी सुखसुविधा बढाउन वा चलअचल सम्पत्ति खरीद गर्ने योजना बनाउने दिन हो । कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्दैन । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःभद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । श्रेष्ठ र शुभ कर्ममा आकर्षण बढ्नेछ, कुनै यज्ञयागादि वा माङ्गलिक कार्य गर्ने योजना बनाउने वा पारिवारिक सल्लाह हुने समय छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो÷सुन्तले र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित समाचार