दोहा कतार – कतारवासी तमूहरुको साझा संस्था तमु (गुरुङ) समाज कतारले यस बर्षको सप्री ल्हो ल्होसार आगामी ३ जनवरी -२०२५ को दिन भब्य रुपले मनाउने भएको छ । “तमुहरुको एकता, आजको आवश्यकता” भन्ने मुल उद्देश्य लिएर कतारमा सन् – २००४ मा स्थापना भएको यस संस्थाले नयाँ वर्षको रुपमा हरेक वर्ष पुस १५ मा मनाउदै आएको ल्होसार बिगतमा जस्तै यो वर्ष पनि मुप्र्हि ल्होलाई बिदाई र सप्र्हि ल्हो लाई स्वागत गर्दै मनाउन लागेको हो ।
तमूहरुको आफ्नो सांस्कृतिक राष्ट्रिय पर्व ल्होसार पर्व यस बर्षको सप्र्हि ल्हो-ल्होसार कार्यक्रममा नेपालबाट आमन्त्रित हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङ र लोक दोहोरी तथा कौडा चुड्का गायिका बबिता गुरुङ र तमू सांस्कृतिक परिवार कतारका कलाकारहरुको सांस्कृतिक प्रस्तुति सहित तथा स्यौं कैं को कार्यक्रम पनि रहने कुरा आयोजकले जनाएको छ ।
तमु (गुरुङ) समाज कतारको आयोजनामा अबु हामुर स्थित आइडियल इन्डियन स्कुलको सभाहलमा हुन लागेको राष्ट्रिय पर्व सप्र्हि ल्हो-ल्होसार तथा स्यौं कैं कार्यक्रम-२०२५ कार्यक्रममा कतारमा स्थापित संघ संस्थाहरु, बैचारिक संस्थाहरु, विशिष्ठ व्यक्तित्वहरु, समाजसेवीहरु, बुद्धिजीवीहरु, सामाजिक अभियन्ताहरु, व्यवसायीहरु, कलाकारहरु, मिडियाकर्मीहरु, पत्रकारहरु लगायत सबैलाई आमन्त्रण गरेको र आवश्यक सम्पूर्ण तयारी पनि अन्तिम चरणमा पुगेको समाजकी अध्यक्ष टौमाया गुरुङले नेपाली जनता खबरलाई जानकारी गराउनु भएको छ ।
कार्यक्रममा एनआरएन आइडल २०२३ का विजेता रुस्तम तामाङ, नृत्य तर्फकी विजेता निरु श्रेष्ठ र अन्य थुप्रै कलाकारहरुको साङ्गीतिक प्रस्तुतिहरु रहनेछ । कार्यक्रम हल सम्म पुग्न ग्रान्डमल, सनैया -४७, मतार गदिम, उमसलाल, अलखोर, होमसाइड, बिराकत अल अवामिर , अर्जेन्टिना क्याम लगायतका अन्य धेरै स्थानबाट यातायातको समेत व्यवस्था रहेको आयोजक समितिले बताएको छ।
गुरुङ समुदायमा ल्हो भन्नाले वर्ग अथवा वर्ष र सार/छार भन्नाले नयाँ भन्ने हुन्छ भने हरेक वर्ष फरक-फरक नामले मनाइने यो पर्व प्रत्येक १२ वर्षमा घुमेर फेरि त्यही वर्ष अर्थात वर्ग आउने गर्छ । गुरुङ समुदायको वृतचित्र अनुसार ल्वों ल्हो (गाई), तो ल्हो (बाघ) , ह्युइ ल्हो (बिरालो), मुप्री ल्हो (गरुड) , सप्री ल्हो (सर्प), त ल्हो (घोडा), ल्हु ल्हो (भेडा), प्र ल्हो (बाँदर), च्हया ल्हो (चरा), खी ल्हो (कुकुर), फो ल्हो (मृग) र च्यु ल्हो (मुसा) गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको पाईन्छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्