दोहा कतार- नेपाल प्रवासी तामाङ समाज कतारले आगामी शुक्रबार अर्थात ३१ जनवरी -२०२५ को दिन एउटा बृहत साँस्कृतिक कार्यक्रमको साथमा राष्ट्रिय पर्व मञ्जुश्री सम्वत्- २८६१ सोनाम ल्होछार डुल (सा पुख्री) ल्हो सर्प वर्ग धुमधाम सङ्ग मनाउने भएको छ ।
करिब ३ दर्जन भन्दा धेरै कलाकारहरुको सांङ्गीतिक प्रस्तुतिहरु सहित अल दोसरी जु गार्डेन, सहानियामा हुने कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थपित सम्पुर्ण संघ संस्थाहरु, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, मिडियाकर्मी, पत्रकारहरु सबैलाई पत्राचार गरिसकेको र कार्यक्रमको लागि चाहिने आवश्यक तयारी पनि अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष सुवाश तामाङले जानकारी गराएका छन ।
“तामाङ जातिको संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं, तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार घरघरमा मनाऔं” भन्ने मुल नारा सहित बिहान ११ बजेबाट सुरु हुने उक्त कार्यक्रममा जान र आउनको लागि रसलाफान, सनैया ग्रान्डमल, अलखोर, बिन महमुद, अलसाद, हिलाल, नज्मा, मन्सुरा, उम सलाल, गराफा, मदिना खलिफा, मिसाइद, वर्कत अलि र वक्रा बाट यातायातको पनि व्यवस्था रहेको आयोजक समितिले बताएको छ भने म्हेन्दोमाया समाज कतार र नेपाल तामाङ कलाकार संघ कतार कार्यक्रमको सह-आयोजकको रुपमा सहभागी छन ।
मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म घर, गुम्बा र सार्वजनिक स्थानमा पूजा-प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमहरु गरि नयाँ वर्षको शुभराम्भको रुपमा मनाइने सोनाम ल्होसार समाजले हरेक वर्ष बृहत साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरि मनाउदै आइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्