काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ताप्लेजुङको पाथीभरामा भइरहेको केबुलकार निर्माण तत्काल रोक्न माग गरेको छ।
आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीको तर्फबाट यो माग राखेकी हुन्।
‘म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु— त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्काल रोकेर सबै सरोकारवालासँग, समर्थक, विरोधी, आयोजक पक्ष र स्थानीय नागरिकहरूसँग संवाद गरियोस्, वार्तामार्फत समाधान खोजियोस्,’ कार्कीले भनिन्।
उनको जोड छ कि बल प्रयोग गरेर होइन, सरकारले वार्तामार्फत समाधान खोज्नुपर्छ। उनले प्रश्न गरिन्, ‘जहाँ विकासका योजना लागू गरिन्छ, त्यहाँका स्थानीयमाथि लाठीचार्ज गरेर, गोली चलाएर, हत्या गरेर गरिने विकास, विकास हो कि विनाश?’
उनले यसअघि स्थानीयसँग भएको सहमति कार्यान्वयन नभएको र त्यसैले सरकारप्रति नागरिकको विश्वास डगमगाएको पनि बताइन्।
प्रतिक्रिया दिनुहोस्