एउटा इतिहास बनेर अस्ताए गुल्मीका झबिन्द्र १३औं दिनको पुण्यतिथिमा कतारमा गरियो शोकसभा…

दोहा कतार- गत फेब्रुअरी १९ तारीख २०२५ को साँझ करिब ८ बजेको समयमा कतारको आबुहामुरमा सडक दुर्घटनामा परि ज्यान गुमाएका सफल व्यवसायी तथा सामाजिक व्यक्तित्व गुल्मी जिल्ला मालिका गाउँपालिका ५ छाप हिले निवासी स्व. झबिन्द्र आचार्यको १३औं पुण्यतिथिको दिन पारी सोमबार कतारमा अन्तिम श्रद्धाञ्जली तथा शोकसभा कार्यक्रम गरियो ।

सडक किनारमा उभिएका आचार्यलाई तीव्र गतिमा अनियन्त्रित भइ आएको लिमोजिन ट्याक्सीले ठक्कर दिँदा घटनास्थलमै ज्यान गुमाएका आचार्यको हसिलो अनुहार भएको फोटो सयपत्री फुलको माल्यार्पण गरि स्टेजको बिच भागमा एउटा टेबुल माथी अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो भने सधैँ जसो विविध साँस्कृतिक कार्यक्रमहरुको रौनकताले भरिने सनैयामा रहेको फूलबारी रेस्टुरेन्टको सभाहल सोमबार साँझ स्थिर अनि शान्त थियो ।

आँखै अगाडि आचार्यको फोटो सहितको ठुलो अक्षरमा श्रद्धाञ्जली तथा शोकसभा लेखिएको ब्यानर देखिए पनि हलमा उपस्थित भएका अधिकाङ्शको मलिन मुहार अनि आँशुले टिल्पिलाएका आँखाले कहिँ न कहिँ उनको उपस्थिति खोजिरहेको थियो तर सत्य सत्य नै हुन्छ भने झैँ शोकसभा कार्यक्रम सञ्चालक देवराज पुन मगरले आचार्य प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमको सुरुवात गरे पछि झन सुनसान भएको फुलबारीको हलले पनि सायद उनैलाई खोजिरहेको छ जस्तो भान भएको थियो ।

बास्तवमै शोकमग्न भएको हलमा आचार्यको सम्झनामा एक मिनेट मौन धारण गरे पश्चात् गुल्मी सेवा समाज कतारका अध्यक्ष कमल अर्यालले आचार्यको जीवनी वाचन गर्दै कार्यक्रमलाई अगाडि बढाएका थिए । अर्यालले आचार्य रोजगारीको सिलसिलामा १२ वर्षको कलिलो उमेरमा भारतको नयाँ दिल्ली पुगेको सुनाए । केही वर्ष काम गरी सन् २००७ मा श्रमिकको रूपमा कतार छिरेका स्व. आचार्यले केही समय श्रमिकको रूपमा काम गरे पनि हाल आफ्नै व्यवसाय गर्दै दुई दर्जन भन्दा बढी श्रमिकहरुलाई रोजगारी दिदै आएका थिए । 

कार्यक्रममा सहभागीहरूले आचार्यको फोटोमा फुलगुच्छा सहित श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा हलमा सन्नाटा छाएको थियो । आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्न आइपुगेका कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेलले आफू कतारमा नयाँ भएको हुँदा आचार्यसँग सामिप्यता नभए पनि उनी असल समाजसेवी भएको आफूले थाहा पाएको बताए । आचार्य सामाजिक संस्था गुल्मी सेवा समाज कतारको वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ कतारका सह-कोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए भने मोना कतार बहुउद्देश्यीय अक्षयकोषका आजीवन सदस्य, बागलुङ सेवा समाज, दाङ देउखुरी सेवा समाज दोहा कतारका मानार्थ सदस्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका सल्लाहकार पदमा समेत रहेका थिए ।

कतारदेखि गृह जिल्लासम्म आर्थिक, नैतिक र भौतिक रुपमा जस्तोसुकै आपत विपतमा पनि सहयोग गर्न सदैव तत्पर रहने आचार्यको श्रद्धाञ्जली सभामा एनआरएनए आइसीसीका पदाधिकारीहरू, कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व, पत्रकारसहित शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रमको अन्त्यमा बोल्दै गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति रमेश भट्टले आचार्यको दुर्घटना हुनुपूर्व र दुर्घटना पछिको घटनाक्रमको स्मरण गरेका थिए । भावुक हुँदै कार्यक्रमको समापन गरेका भट्टले आचार्यको शव नेपाल पठाउन साथ सहयोग गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्दै शोक सन्तप्त परिवारजनमा कतारमा रहेका सबै नेपालीको तर्फबाट गहिरो समवेदना प्रकट गरेका थिए । 

छोटो समयमै एउटा इतिहास बनेर सदाका लागि अस्ताएका स्व. झबिन्द्र आचार्य प्रति नेपाली जनता खबर परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन ।।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार