मलेसियामा व्यवसाय गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी, गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाका सह–सचिव डिल्ली न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर झापाको दमक नगरपालिका–९ मा रहेको एक अनाथ तथा वृद्ध आश्रमलाई सहयोग प्रदान गरेका छन्।
जन्मदिनलाई भड्किलो रूपमा मनाउनुको सट्टा सामाजिक सेवामा समर्पित गर्दै न्यौपानेले आश्रममा रहेका अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेका हुन्। उनले जन्मदिनको खुसी समाजका असहाय र अभावमा रहेका व्यक्तिहरूसँग बाँड्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको बताएका छन्।
लामो समयदेखि मलेसियामा व्यवसाय सञ्चालन गर्दै आएका न्यौपाने सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन्। विशेषगरी वैदेशिक रोजगारीका क्रममा मलेसियामा विभिन्न समस्या तथा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको उद्धार, राहत तथा सहयोगमा उनको महत्वपूर्ण भूमिका रहने गरेको छ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएका न्यौपानेले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयवासी तथा आश्रम व्यवस्थापनले न्यौपानेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
समाजसेवा र परोपकारी कार्यमा निरन्तर सक्रिय डिल्ली न्यौपानेको यो कदमले जन्मदिनलाई केवल व्यक्तिगत उत्सव नभई सामाजिक उत्तरदायित्वसँग जोड्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।





प्रतिक्रया दिनुहोस्