काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएको विषयमा विपक्षी दलहरूले सरकारसँग स्पष्टिकरण मागेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने अवसर दिए।
पाण्डेले घिसिङलाई शून्य अंक दिइएको विषयमा सरकारको स्पष्टीकरण आवश्यक रहेको भन्दै रुलिङको माग गरे।
“आज स्पष्टीकरण, भोलि स्पष्टीकरण, पर्सि स्पष्टीकरण गर्दै सरकार यस विषयमा कस्तो अडान लिइरहेको छ? यसको कारण के हो? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। सभामुखमार्फत सरकारको धारणा स्पष्ट गर्न माग गर्दछु,” उनले भने।
उनले राम्रो काम गरिरहेको व्यक्तिलाई शून्य अंक किन दिइयो भनेर प्रश्न गरे। “जसले विद्युत् प्राधिकरणलाई नाफामा लगेको छ, उसलाई शून्य अंक दिनुको कारण के हो?” उनले सोधे।
सरकार आफैंको मूल्यांकन नगरी विद्युत् प्राधिकरणका प्रमुखलाई शून्य अंक दिएको भन्दै उनले आपत्ति जनाए। सार्वजनिक संस्थानहरू घाटामा जाँदा पनि घिसिङले प्राधिकरणलाई नाफामा पुर्याएको स्मरण गराउँदै उनले भारत र बंगलादेशमा विद्युत् निर्यातको सम्झौता समेत घिसिङकै कार्यकालमाभएको बताए।
प्रतिक्रिया दिनुहोस्