रमेश पाठकको आवाजमा कृष्ण रसाल र शिला गजुरेल अभिनयमा जे गर्नु पैसाले गर्‍यो

nepalijanatakhaba

काठमाडौं: गायक रमेश पाठकको स्वरमा रहेको नयाँ गीत ‘जे गर्नु पैसाले गर्‍यो’ को भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द र सङ्गीत पनि रमेश पाठककै रहेको छ भने सङ्गीत संयोजन दिनेश न्यौपानेले र मिक्सिङ/मास्टरिङ मनोज परियारले गरेका छन्।

 

गीतको भिडियोमा कृष्ण रसाल, शिला गजुरेल, गोविन्द प्रभात, निर्देशक तथा कोरियोग्राफर केशव कोइराला लगायत कलाकारहरूको अभिनय र नृत्य देख्न सकिन्छ। भिडियोको छायांकन योगेश दाहालले गरेका हुन् भने सम्पादन रमेश पाठक र रङ संयोजन ओम प्रसाईंको रहेको छ।

 

भिडियो सार्वजनिक गर्दै गायक पाठकले भने, “हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट सिर्जना ल्याएका छौं। सबैको साथ र समर्थनको अपेक्षा राखेको छु। यो गीतमार्फत हामीले मानव जीवनको यथार्थता देखाउने प्रयास गरेका छौं—जीवन कुमालको चक्रजस्तै हो, कहिले अगाडि त कहिले पछि। धनले मात्र धनी हुँदैन, मन पनि धनी हुन जरुरी छ भन्ने सन्देश दिन खोजिएको छ।”

 

गीत पाठकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतमा पैसाका कारण समाजमा देखिने विकृति र पीडाहरूलाई चित्रण गरिएको छ। गरिबीले मानिसले भोग्नुपर्ने संघर्षलाई गीत र भिडियोमार्फत प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ।

 

रमेश पाठक बहुआयामिक गायक हुन्। उनले लोक, आधुनिक र पप विधामा निरन्तर गीतहरू प्रस्तुत गरिरहेका छन्, जसले श्रोतादर्शकको मन जितिरहेका छन्। उनी चेतनामूलक, समसामयिक, व्यावसायिक र विविध शैलीका गीतमार्फत सन्देशमूलक प्रस्तुति दिनमा सफल गायकको रूपमा चिनिँदै आएका छन्।

समबन्धित समाचार