बागलुङ — माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत अध्यक्ष तथा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई बागलुङ नगरपालिकाले विशेष स्वागत तथा सम्मान गरेको छ।
कार्यक्रममा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले अभियान सफल होस् भन्ने शुभकामना दिँदै नगरका आवश्यकता र प्राथमिकता समेटिएको ज्ञापनपत्र प्रचण्डलाई हस्तान्तरण गरे। त्यसैगरी, जिल्ला समन्वय समिति प्रमुख अमर बहादुर थापाले जिल्लाका समस्या र सम्भावनाबारे धारणा राख्दै, पूर्वप्रधानमन्त्रीप्रति आवश्यक सहयोगको अपेक्षा व्यक्त गरे।
अध्यक्ष प्रचण्डले पातीहाल्नी हुँदै बागलुङ प्रवेश गर्दा बाटैमा नागरिकहरूको उत्साहजनक स्वागत र सहभागिता पाएको उल्लेख गर्दै, माओवादी केन्द्र सरकारमा हुँदा सुरु गरिएको मध्यपहाडी लोकमार्ग बागलुङमै सबैभन्दा लामो खण्ड रहेको जानकारी दिए। साथै, चुरे करिडोरमार्फत देशलाई एकताबद्ध गर्ने प्रयास पनि त्यतिबेला गरिएको उनले स्मरण गराए।
प्रचण्डले नगर र जिल्लाले अघि सारेका विकास योजनामा पार्टी र आफ्नो नेतृत्वबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रतिक्रया दिनुहोस्