अमेरिका: अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कबीच विवाद चर्किएको छ। ट्रम्पले मस्कको कम्पनीलाई संघीय सरकारका प्रोजेक्टहरूबाट हटाउने धम्की दिएका छन्, जुन प्रोजेक्टहरू स्पेसएक्सका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छन्।
ट्रम्पको उक्त चेतावनीपछि मस्कले सामाजिक सञ्जालमार्फत् आक्रोशित प्रतिक्रिया दिएका छन्। उनले ट्रम्पलाई महाभियोगको माग गर्दै, हिम्मत छ भने आफूले पाउँदै आएको सरकारी अनुदान हटाएर देखाउन चुनौती दिएका छन्।
त्यससँगै उनले आफ्ना स्पेसक्राफ्ट (ड्र्यागन) लाई फिर्ता बोलाउने प्रक्रिया तीव्र बनाउने चेतावनी पनि दिएका छन्। ट्रम्प प्रशासनले जसमा अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई पठाउने र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सामान पुर्याउने जिम्मा स्पेसएक्सलाई दिएको छ।
ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले भने मस्कको आरोपलाई हल्का रूपमा खण्डन गर्दै भनिन्, “एलन मस्क अहिले जे गर्दै छन्, त्यो दुःखद छ। उनी ‘वन बिग ब्यूटीफुल बिल’ बाट असन्तुष्ट छन्, किनकि त्यो विधेयकमा उनले चाहेका नीतिहरू समावेश छैनन्।”
मस्कले सायद ट्रम्प प्रशासनसँगको सिधा टक्कर जित्न नसक्लान्, तर उनले ट्रम्प र रिपब्लिकन पार्टीलाई राजनीतिक र व्यक्तिगत हिसाबले महँगो मूल्य तिर्न बाध्य पार्न सक्छन्। यो खतरा ट्रम्पले महसुस गरिसकेका थिए, त्यसैले उनले अन्ततः यो विवादलाई शान्त पार्ने प्रयास गरेका थिए। ह्वाइट हाउसको एक कार्यक्रममा मस्क उपस्थित हुँदा ट्रम्पले उनीबारे कुनै टिप्पणी गरेनन्।
तर केही समयपछि ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखे, “मस्कविरुद्ध जान मलाई कुनै आपत्ति छैन। राम्रो हुने थियो यदि उनले धेरै अघि नै सरकारी सेवा छाडेका हुन्थे।” त्यसपछि उनले आफ्नो चर्चित “बिग ब्यूटीफुल” कर विधेयकको फेरि चर्चा गरे।
प्रतिक्रया दिनुहोस्