मलेसिया, जोहोरबारु नेपाल थामी समाज मलेसियाको पहिलो ऐतिहासिक अधिवेशन आइतबार जोहोरबारुस्थित लार्किनको गैरआवासीय नेपाली संघ (एनआरएन) क्षेत्रीय समिति, जोहोरबारुको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ।
उद्घाटन समारोह थामी समुदायको परम्पराअनुसार ‘भुम्या पूजा’— तीन ढुंगा पूजा—मार्फत सुरु गरिएको थियो। त्यसपछि थामी धर्मग्रन्थको वाचनसहित कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष तथा शेर्पा संघ मलेसियाका अध्यक्ष नावा नुरी शेर्पा थिए। अधिवेशनले सन्तोष ठान्टी थामीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा पल ठान्टी थामी र निच थामी उपाध्यक्षमा, अविरल थामी महासचिवमा, मे हाङ ठान्टी थामी सचिवमा, नीर बहादुर थामी कोषाध्यक्षमा र यङ लमि थामी सह–कोषाध्यक्षमा चयन भएका छन्।
कार्यसमितिका अन्य सदस्यहरूमा भिम थामी, सन्तकुमार थामी, कमल थामी, प्रज्जल थामी, सुसान्त थामी, अनिल थामी, ॐ थामी लगायत गरी कुल २१ जना रहेका छन्।
अधिवेशनमा मलेसियामा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। थामी समुदाय मात्र नभई अन्य नेपाली समुदायको समेत उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा थामी सांस्कृतिक नृत्य “सैओले बम्बा” लगायत विविध प्रस्तुतीहरूले माहोल थप रंगीन बनाएका थिए। अतिथिहरू र सहभागीहरूले संयुक्त रूपमा नाचगानमा सहभागी भई वातावरणलाई अझै उल्लासमय बनाएका थिए।
सहभागीहरूका लागि नेपाली परिकार र चियापानको विशेष व्यवस्था गरिएको थियो। नव–निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि शेर्पाले पद तथा गोपनीयताको शपथ दिलाएका थिए। साथै, प्रमाणपत्र वितरण गर्दै थामी समाजले समुदायको एकता, पहिचान र संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नयाँ अध्यक्ष सन्तोष ठान्टी थामीले हालैको जनगणना अनुसार नेपालमा थामी समुदायको जनसंख्या करिब ३२ हजार रहेको जानकारी दिँदै, समुदायको मौलिक धर्म, भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि नेपाल थामी समाज मलेसियाको योगदान महत्वपूर्ण हुने बताए। उनले देश तथा विदेशमा फैलिएका थामीहरूलाई एकजुट गर्दै साझा पहिचान बनाउने दिशामा समाज अगाडि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रम सफल बनाउन नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, हेल्प मधेश, सुदूरपश्चिम नेपाली समाज मलेसिया लगायत विभिन्न संस्थाहरूले उल्लेखनीय सहयोग गरेका थिए।



			
                            
                            
                            
प्रतिक्रया दिनुहोस्