काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकता सम्बन्धी छलफल भइरहेको जानकारी दिएका छन्।
मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले समाजवादी मोर्चामा रहेका नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा बीच एकताको सम्भावनाबारे संवाद चलिरहेको बताए।
प्रचण्डले आउँदो निर्वाचनमा माओवादीलाई देशको प्रमुख शक्ति बनाउने लक्ष्यसहित राजनीतिक ध्रुवीकरणलाई प्राथमिकता दिइएको बताए। उनले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान विगतका कमजोरीहरू सुधार्दै पार्टी जनतासँग पुनः नजिकिँदै गएको र त्यसक्रममा माओवादीप्रतिको जनसमर्थन बढ्दै गएको दाबी गरे।
सोही कार्यक्रममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेर कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित अन्य नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नयाँ प्रवेश गरेका नेताहरुलाई जिम्मेवारी दिइने प्रचण्डले बताए।
प्रतिक्रया दिनुहोस्