काठमाडौँ – एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनामा परेको छ। उक्त विमानमा चालक दलसहित २४२ जना यात्रु सवार थिए।
विमान लन्डनतर्फ उडान भर्ने तयारीमा थियो र टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विमान एयर कस्टम कार्गो अफिसको छेउमा खसेको बताइएको छ।
एयर इन्डियाले आफ्नाे एक्स (पूर्व ट्विटर) खातामा पोस्ट गर्दै दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, “आज, १२ जुन २०२५ का दिन अहमदाबाद–लन्डन गेटविक उडान गर्ने एआई१७१ नम्बरको विमान दुर्घटनामा परेको छ।” एयर इन्डियाले अहिले थप विवरण संकलन गर्ने प्रयासमा रहेको र चाँडै थप अपडेट दिने जानकारी गराएको छ।
विमान खसेपछि आसपासको क्षेत्रमा बाक्लो धुवाँ फैलिएको थियो। घटना स्थलमा प्रहरी टोली तुरुन्त पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्सहरू परिचालन गरिएको छ। उद्धार कार्य सुरु भइसकेको छ, जसमा एनडीआरएफ (राष्ट्रिय विपद् प्रतिक्रिया बल) का दुई टोलीहरू समेत खटिएका छन्।
गृहमन्त्री अमित शाहले घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी प्रमुखसँग छलफल गरेका छन्। केन्द्र सरकारबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिइएको छ।
न्यूज २४ अनलाइनका अनुसार, दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रतिक्रया दिनुहोस्