काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले महामन्त्री पदमा आफ्नो दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएको हो। अदालत स्रोतका अनुसार, अब छिट्टै उक्त मुद्दामा आदेश आउनेछ।
डा. ढकालले आफू नै पार्टीको वैध महामन्त्री भएको र त्यस आधारमा काम गर्न पाउनुपर्ने मागसहित आजै रिट दायर गरेका थिए। उनले रिटमा रास्वपाको कार्यालय, वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई प्रतिवादी बनाएका छन्। साथै, उनले उत्प्रेषण (writ of certiorari) आदेशको माग गरेका छन्।
पार्टीले गरेको कारबाहीको विरुद्धमा ढकालले निर्वाचन आयोगमा पनि उजुरी दिएका छन्। उनले आयोगलाई पार्टीको कारबाहीसम्बन्धी कुनै जानकारी अद्यावधिक नगर्न भनेका छन्।
रास्वपाले एक वर्षअघि अनुशासनविपरीतको अभिव्यक्ति र असमर्यादित व्यवहार गरेको आरोप लगाउँदै ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो।
तर ढकालको भनाइमा पार्टीको निर्णय गैरकानुनी छ, र आफू अझै वैध महामन्त्री नै हुन् भन्ने दाबी गर्दै कानुनी लडाइँमा उत्रिएका छन्।
प्रतिक्रया दिनुहोस्