बेलायतमा ज्यान गुमाएका दुई नेपाली विद्यार्थीको लन्डनमा अन्त्येष्टि, परिवारले नेपालबाटै भिडियोमार्फत हेरे

वायु प्रधुशन
nepalijanatakhaba

लन्डन – बेलायतमा निधन भएका दुई नेपाली युवाको एउटै दिन लन्डनमा अन्त्येष्टि गरिएको छ। गत जुन १४ मा लन्डनको वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत भेटिएका २७ वर्षीय विपिन न्यौपाने र अप्रिल २८ मा लन्डनको थेम्स नदी किनारामा शव फेला परेका २० वर्षीय सुशान ओलीको छुट्टाछुट्टै क्रिमेटोरियममा अन्त्येष्टि गरिएको हो।

 

गुल्मीको जोहाङ पुख्र्यौली र हाल रुपन्देहीको मणिग्राम घर भएका विपिन न्यौपानेको अन्त्येष्टि लन्डन एल्थामस्थित क्रिमेटोरियममा सम्पन्न भयो। बेलायतमै रहेका उनका आफन्तको पहलमा अन्त्येष्टि गरिएको हो भने खर्च उनले कार्यरत कम्पनीले बेहोरेको विपिनका आफन्त विष्णु भण्डारीले जानकारी दिए।

 

विपिनको अन्तिम बिदाइमा उनका आफन्त, सहकर्मी र कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो। डेढ वर्षअघि मास्टर्स पढ्न बेलायत आएका विपिनले सेन्ट जोन युनिभर्सिटीबाट स्नातकोत्तर पुरा गरी हालै मात्र पीएसडब्लु भिसा लिएर पूर्णकालीन रुपमा काम सुरु गरेका थिए।

 

त्यसैदिन साउथ इस्ट लन्डनमा विपिनको अन्त्येष्टि भइरहँदा, वेस्ट लन्डनको फेल्थाममा गत अप्रिलको अन्तिम साता ज्यान गुमाएका सुशान ओलीको पनि अन्त्येष्टि गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास सम्पर्क विभाग बेलायतको संयोजनमा सुशानको अन्त्येष्टि गरिएको विभागका सचिव रमेश वेल्बासेले जानकारी दिए। कार्यक्रममा रास्वपाका सदस्यहरूसँगै केही नेपाली समुदायका प्रतिनिधि र सुशानका आफन्त पनि सहभागी थिए।

 

रुकुम पश्चिमको मुसिकोट स्थायी घर भएका सुशान एक वर्षअघि बेलायत आएका थिए र कोभेन्ट्री युनिभर्सिटीमा अध्ययन गर्दै थिए। गत अप्रिल २३ मा लन्डनबाट सम्पर्कविहीन बनेका उनलाई पाँच दिनपछि बेलायती प्रहरीले थेम्स नदी किनारमा मृत फेला पारेको थियो।

 

दुवै परिवारले बेलायत जान नपाए पनि आफ्ना छोराहरूको अन्त्येष्टि नेपालमै बसेर लाइभ भिडियोमार्फत हेरेर अन्तिम बिदाइ दिएका थिए।

nepalijanatakhabar

समबन्धित समाचार