भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियारका अनुसार मंगलबार उनलाई २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो। भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा पर्ने १४ रोपनी ४ आना जग्गाको मोही नाममा प्रमाण पुर्जा बनाउन उनले घुस मागेका थिए।
५४ वर्षीय आचार्य उदयपुरको बेलका नगरपालिका–४, हरिपुरका स्थायी बासिन्दा हुन् भने हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७, फोर्सपार्क टोलमा बस्दै आएका छन्। उनलाई अख्तियारले भक्तपुरको व्यासीस्थित मालपोत कार्यालयबाटै पक्राउ गरेको हो। साथमा उनले प्रयोग गर्दै आएको दुई वटा मोबाइलसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।
यसै घटनामा कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउत पनि अख्तियारको नियन्त्रणमा परेका छन्। राउत भक्तपुरको चाँगुनारायण नगरपालिका–९, राउत टोलका बासिन्दा हुन् र हाल लोकन्थलीमा बस्छन्।
अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१४ रोपनी ४ आना जग्गाको मोही र तलसिङको लगत कट्टा गरी मोहीको नाममा जग्गा प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि मागिएको २४ लाख ५० हजार रुपैयाँ घुससहित प्रमुख कुमार आचार्य र सहयोगी टीकाराम राउतलाई मोबाइल डिभाइससहित नियन्त्रणमा लिइएको हो।’
प्रतिक्रया दिनुहोस्