करिब १४–१५ जना युवालाई “युरोपमा पठाइदिन्छु” भन्दै ठगी गरेर वडा सदस्य फरार

वायु प्रधुशन
nepalijanatakhaba

मन्थली: रामेछाप नगरपालिका–७ का वडा सदस्य महेन्द्र मगर युवालाई विदेश पठाइदिने झुटो आश्वासन दिँदै लाखौं रुपैयाँ ठगी गरेर फरार भएका छन्। उनले आफ्नै वडाका करिब १४–१५ जना युवालाई “युरोपमा आकर्षक काम दिलाइदिन्छु” भन्दै विश्वासमा पारी पैसा असुली सम्पर्कविहीन भएका हुन्।

 

वडासदस्य मगरले युवाहरूसँग युरोप जान भारत गएर भिसा झिकाउनुपर्ने भन्दै प्रति व्यक्ति ५० हजार रुपैयाँ उठाएका थिए। तर पैसा र पासपोर्ट बुझाएको एक वर्ष बितिसक्दा पनि न भिसा आयो, न त उनी स्वयं सम्पर्कमा छन्।

 

पीडित अस्मिता महतारा भन्छिन्, “वडासदस्यले तीन महिनामा भिसा आउने भनेका थिए। विश्वास गरेर पैसा र पासपोर्ट बुझाएँ तर अहिले एक वर्ष बितिसक्यो, उनी सम्पर्कमै छैनन्।” उनका अनुसार मगरको मोबाइल अफ छ र फेसबुक अकाउन्ट पनि बन्द भएको छ।

 

रामेछाप–७ कै सागर कार्कीले पनि आठ महिना अगाडि पासपोर्ट बुझाएका थिए। पैसा मागे पनि नदिएपछि उनलाई भिसा प्रक्रिया अघि बढाइएन। अहिले वडा सदस्य सम्पर्कविहीन भएपछि नयाँ पासपोर्ट बनाउने बाध्यता आइलागेको उनले बताए।

 

अस्मिता र सागर मात्र होइन, वडाभरिका कैयौँ युवाहरू ठगिएको पाइएको छ। जनप्रतिनिधि जस्तो जिम्मेवार पदमा रहेकाले विश्वास गरेर पैसा बुझाएका युवाहरू अहिले ठगिएको महसुस गर्दै तनावमा छन्।

 

स्थानीय एक छिमेकीका अनुसार वडा सदस्य मगर आफूले उठाएको पैसा लिएर विदेश नै फरार भएको हुन सक्ने आशंका गरिएको छ।

 

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पीडितले प्रमाणसहित उजुरी दिए कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

nepalijanatakhabar

समबन्धित समाचार