मलेसिया जोहोर: गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको सचिव पदमा उमेश महतो कोइरी सर्वसम्मत रूपमा चयन भएका छन्।
लामो समयदेखि मलेसियामा बसोबास गर्दै समाजसेवा र खेलकुद क्षेत्रमा सक्रिय रहेका महतोले ‘मल्का कप’ नामक फुटबल प्रतियोगिता नेपाली दूतावास मलेसियाका राजदूत डिल्लीराम पौडेलको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न गराएका थिए। उक्त प्रतियोगितामा मलेसियाका विभिन्न नेपाली क्लबहरूको सहभागिता थियो। यस्ता सामाजिक तथा खेलकुद गतिविधिबाट सक्रिय रहेका महतो अहिले सचिव पदमा निर्वाचित भएका छन्।
करिब ११ वर्षअघि श्रमिकका रूपमा मलेसिया आएका महतो अहिले मलेसियास्थित मल्का राज्यमा सामान्य व्यवसाय सञ्चालन गर्दै आएका छन्। एनआरएनए जस्तो प्रतिष्ठित संस्थाको सचिव पदमा निर्वाचित हुन पाउँदा उनले आफू निकै उत्साहित भएको बताएका छन्।
नेपाली जनता खबर डट कम सँग कुराकानी गर्दै उनले भने, “यो जिम्मेवारी केवल पद होइन, दायित्व हो। म यो कार्यकाललाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन जुलाई २७, आइतबारका दिन सम्पन्न भएको थियो। यो अधिवेशनमार्फत आगामी कार्यकाल (२०२५–२०२७) का लागि नयाँ नेतृत्व चयन गरिएको हो।
प्रतिक्रया दिनुहोस्